सुर्खेतमा तेस्रो दिन पनि बिहानैदेखि प्रदर्शन
वीरेन्द्रनगर, माघ १६ : टिपर दुर्घटनामा युवकको मृत्यु भएको तेस्रो दिन पनि सुर्खेतमा तनाव जारी रहेको छ। बिहीबार बिहानैदेखि प्रदर्शन सुरू भएको छ।
....वीरेन्द्रनगर, माघ १६ : टिपर दुर्घटनामा युवकको मृत्यु भएको तेस्रो दिन पनि सुर्खेतमा तनाव जारी रहेको छ। बिहीबार बिहानैदेखि प्रदर्शन सुरू भएको छ।
मंगलबार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहको जुम्लारोडमा टिपरको ठक्करबाट मृत्यु भएको थियो। टिप्पर चालकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै मंगलबारदेखि नै प्रदर्शन सुरू भएको थियो।
विरोध प्रदर्शन हुन थालेपछि मंगलबार कर्फ्यू लगाइएको थियो। बुधबार सहमति भएपनि बिहीबार बिहानदेखि फेरि प्रदर्शन सुरू भएको छ।
केशरका आफन्तले बिहीबार बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन्। उनीहरूले सवारी साधन चल्न दिएका छैनन्।प्रदर्शनमा उत्रिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतक परिवारजनसँग बुधबार सहमति भएपनि आज फेरि अर्को समूहले प्रदर्शन गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए। टिपरधनीविरुद्ध मुज्ञा दर्ता गर्ने, प्रदर्शनमा घाइते भएकाको उपचार गर्ने र मृतकका परिवारलाई राहत उपलब्ध गराउने सहमति भएको थियो। तर, बिहीबार अर्को समूहले विरोध गरेको प्रजिअ अधिकारीले बताए।
पीडित परिवारजनसँग सहमतिका लागि प्रयास भइरहेको उनले बताए। सहमति नभए प्रशासनले नै मृतकको पोस्टमार्टम गर्ने उनले बताए। तीन दिनसम्म शवको पोस्टमार्टम हुन सकेको छैन।