राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण
काठमाडौं, माघ १६ : राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोकमा परम्परानुसार वसन्त श्रवण गरेकी छन्।
....

काठमाडौं, माघ १६ : राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोकमा परम्परानुसार वसन्त श्रवण गरेकी छन्।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ९ः०५ बजेको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन्। सो अवसरमा राष्ट्रपति भण्डारीले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरेकी छन्।
राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरेको थियो।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वसन्त श्रवण गरेका छन्। कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका निजामती कर्मचारी तथा सुरक्षा निकायका प्रमुख पनि उपस्थित रहेका थिए।
परम्पराअनुसार नासलचोकमा कलाकारले वसन्त राग प्रस्तुत गरेका थिए।
वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ। वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ।











