अर्थमन्त्री महतले भने– टोखा–छहरे सुरुङमार्ग निर्माण सुरु हुन लागेको छ
अर्थमन्त्री डा. प्रकाशरण महतले सुरुङमार्ग निर्माणका लागि धेरै पहिलेदेखि बहस भए पनि अब भने काम सुरु गर्न आवश्यक बजेटको विनियोजन गर्ने बताए।नुवाकोट, वैशाख २३ : अर्थमन्त्री डा. प्रकाशरण महतले काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताएका छन्।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित गुरु पदमसम्भवको मूर्तिको प्राण प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरुङमार्ग निर्माणका लागि धेरै पहिलेदेखि बहस भए पनि अब भने काम सुरु गर्न आवश्यक बजेटको विनियोजन गर्ने बताए।
‘नुवाकोटसहित रसुवा हुँदै चीनसँगको केरुङ बजारसँगको व्यापार बढाउन टोखा–छहरे सुरुङ मार्गको परिकल्पना गरिएकाले कार्यान्वयनमा लैजान लागिएको हो,’ अर्थमन्त्री डा.महतले भने, ‘कृषि र पर्यटनको विकास, उद्योग व्यवसायको वृद्धि, धार्मिक तथा सांस्कृृतिक गतिविधिलाई चलायमान बनाएर केरुङ हुँदै चीनसँगको व्यापार बढाउन के–कति सकिन्छ आगामी आर्थिक वर्षमा बजेट तर्जुमा गर्न लागिएको छ।’
संघीय सरकार आगामी आर्थिक वर्षको तयारीमा रहेकाले उत्पादक र ठूला योजनाका क्षेत्रमा बजेटले प्राथमिकता पाउने अर्थमन्त्री डा. महतले बताए। उनले भने, ‘विकास निर्माणलाई कांग्रेसले सदैव प्रथामिकता दिँदै आएको छ । जनताको सुखदुःख, विकास निर्माण, धर्म र संस्कृति तथा मानवीय जीवनसँग जोडिएका पक्षमा काम गर्दै आइरहेको छ।’
उनले अहिले अर्थतन्त्र अप्ठ्यारो परिस्थितिको भएकाले धेरै अपेक्षा नराख्न तर, राम्रा र नमुना कामको थालनी हुन्छ भन्नेमा ढुक्क हुन आग्रह गरे।