एमसीसीबारे नेकपाले भन्यो- आर्थिक सहयोगमा सैन्य रणनीति स्वीकार्य हुँदैन
काठमाडौं, माघ १५ : सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कुनै पनि देशले गर्ने आर्थिक र राजनीतिक सहयोगमा सैन्य रणनीति स्वीकार....

काठमाडौं, माघ १५ : सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कुनै पनि देशले गर्ने आर्थिक र राजनीतिक सहयोगमा सैन्य रणनीति स्वीकार्न नसकिने प्रष्ट पारेको छ।
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रति लक्षित गर्दै नेकपाले कुनै पनि आर्थिक र राजनीतिक सहयोगमा सैन्य रणनीति स्वीकार्न नसकिने प्रष्ट पारेको हो।
बुधबारदेखि सुरु भएको नेकपाको केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरुपमा पेश गरेको राजनीतिक प्रतिवेदनमा नेपाल कुनै पनि बाह्य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको भन्दै भविष्यमा पनि हुन नसक्ने उल्लेख छ।
‘हाम्रो पार्टी र सरकारले आफू कुनै पनि बाह्य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुन पनि नसक्ने स्पष्ट पारेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यदी सैन्य रणनीतिकै रुपमा अन्य कुनै पनि आर्थिक र राजनीतिक सहयोगको कुरा अघि आएमा नेपालले त्यस प्रकारका कुनै सहयोगको प्रस्तावको सहयोग मन्जुर गर्न सक्दैन।’
यद्यपि नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखी संयुक्त राज्य अमेरिकालगायत संसारका सबै देशसँग पारस्पारिक हितका आधारमा आर्थिक सहयोग र विकासका कार्यमा साझेदारी गर्न नेपाल सधैं तत्पर रहेको नेकपाको भनाइ छ।
राजनीतिक प्रतिवेदनमा अमेरिकाले आफ्नो अति महाशक्तिको स्थिति कायम राख्न र विश्वमा आफ्नो एकछत्र प्रभुत्व बनाइराख्न नयाँ–नयाँ रणनीतिको विकास गरिरहेको र हिन्द महासागर वरिपरीका क्षेत्रहरुमा आफ्नो प्रभाव विस्तार गर्ने प्रभुत्व कायम राख्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इन्डोप्यासेफिक स्ट्राटेजी अघि बढाइरहेको समेत उल्लेख छ।
‘लिम्पियाधुरा क्षेत्र हाम्रै हो’
प्रतिवेदनमा भारतले आफ्नो नक्सामा समावेश गरेको लिम्पियाधुरा क्षेत्र नेपालकै भएको उल्लेखद गरिएको छ। प्रतिवेदनमा पश्चिम नेपालको सीमाना काली नदीको मुहान लिम्पियाधुरा नै भएको उल्लेख छ।
‘हालै भारतले प्रकाशित गरेको नक्सामा नेपालको कालापानी क्षेत्र, लिपुलेक र सीमा नदी महाकालीको नदी लिम्पियाधुरालाई समेत आफ्नो भू–भागमा राखेको कुरा नेपालका सबै राजनीतिक दल नेपाल सरकार बौद्धिक, विज्ञ समुदाय र सिंगो नेपाली समाजलाई असह्य भएको तथ्य प्रकट भइनैरहेको छ,’ प्रतिवेदनमा भनिएको छ।
भारतले एकतर्फी जारी गरेको राजनीतिक नक्सा सच्चाउन कूटनीतिक पहल भइरहेको नेकपाको दाबी गरिएको छ। ‘हाम्रो पार्टी, सरकार र आम नेपाली जनताले तत्काल राजनीतिक र कूटनीतिक संवादमार्फत भारत सरकारलाई नक्सा सच्याउन नेपाली भू–भागबाट भारतीय सेना हटाउन नेपालको भूमि फिर्ता लिन पहल सुरु गरिसकेको छ’ प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो पार्टी र सरकारले सुगौली सन्धि अनुसार लिम्पियाधुरा मुहान भएको महाकाली नदी पूर्व नेपाल र पश्चिम भारत रहेको तथ्य स्पष्ट गरिसकेको छ।’











