‘उद्योगी-व्यवसायीको समस्या समाधान गर्न सरकारकाे अभिभावकीय भूमिका हुनुपर्छ’
बिहीबार काठमाडौंमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २८औं साधारणसभा तथा नवौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले मुलुकमा लगानी मैत्री वातावरण बनाउनुका साथै व्यवसायीहरुको समस्या समाधानका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताएका हुन्।काठमाडाैं, वैशाख २१ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
बिहीबार काठमाडौंमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २८औं साधारणसभा तथा नवौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले मुलुकमा लगानी मैत्री वातावरण बनाउनुका साथै व्यवसायीहरुको समस्या समाधानका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताएका हुन्।
उनले देशको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रका अग्रणी संस्थाहरुले रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गरी निर्यात बढाउन आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए।
दक्ष जनशक्तिको अभाव, सहज बित्तिय पहुँच, ग्रिलजन्य वस्तुको मूल्यवृद्धिलगायत विषयमा आवश्यक कदम चाल्न उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
कार्यक्रममा नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले जनतालाई विश्वास दिलाउनुपर्ने बताए।
ढकालले पछिल्लो समय विप्रेषण बढेको, पर्यटनको आवगमन बढेको र बैंकहरुको ब्याजदर कमी हुनुले मुलुकको आर्थिक क्षेत्र सुधार हुँदै गएको संकेत पैदा भएको जिकिर गरे। कार्यक्रममा महासंघले विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो।