Kathmandu Press

मेलम्चीबाट भागेको कम्पनी तनहुँको पनि सम्पर्कमा आएन

काठमाडौं, फागुन ५ : मेलम्ची खानेपानी आयोजनाबाट भागेको इटालियन कम्पनी (सीएमसी) तनहुँ हाइड्रो लिमिटेडको पनि सम्पर्कमा नआएपछि ठेक्का सम्झौता तोड्ने प्रक्....

मेलम्चीबाट भागेको कम्पनी तनहुँको पनि सम्पर्कमा आएन

काठमाडौं, फागुन ५ : मेलम्ची खानेपानी आयोजनाबाट भागेको इटालियन कम्पनी (सीएमसी) तनहुँ हाइड्रो लिमिटेडको पनि सम्पर्कमा नआएपछि ठेक्का सम्झौता तोड्ने प्रक्रिया शुरु गरिएको छ ।

एक साता अघि मात्रै मेलम्ची खानेपानी विकास समितिले इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी)सँग ठेक्का सम्झौता तोडेको थियो ।

मेलम्ची खानेपानी आयोजनाबाट भागेको सीएमसी तनहुँ हाइड्रो लिमिटेडसँग समेत सम्पर्क हुन नसकेपछि तनहुँले पनि ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाएको हो । तनहुँ हाइड्रोले २८ दिनको समय दिएर सम्पर्कमा आउन सिएमसीलाई पत्र पठाएको थियो । त्यो समयसीमा फागुन ४ गतेसम्म थियो । स्रोतका अनुसार कम्पनी शनिबारसम्म सिएमसीका कुनै पनि व्यक्ति सम्पर्कमा आएका छैनन् ।

१४० मेगावाट क्षमताको आयोजनाको प्रवद्र्धक तनहुँले माघ ४ गते सिएमसीलाई पत्राचार गरी २८ दिनभित्र आयोजनाको काम सुरु गर्न भनेको थियो । मेलम्ची खानेपानी आयोजनामा जस्तै काममा कम्पनी नफर्केसँगै तनहुँ हाइड्रोको निर्माण समय पनि लम्बिने भएको छ । कम्पनीले ठेक्का तोडेर नयाँ ग्लोबल टेन्डरको आह्वान गर्नु पर्ने छ ।

सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाले सिएमसी नआए अर्को एक वर्ष लम्बिन सक्ने विद्युत प्राधिकरणका एक अधिकारीको भनाइ छ । “कम्पनीको जिम्मामा धेरै काम भएकोले पुनः ग्लोवल टेन्डर गरेर सम्झौता गर्दा आठ महिना लाग्ने छ,” ती अधिकारीले भने ।

सिएमसीले तनहुँ आयोजनासँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको छ ।  ठेकेदार कम्पनी सीएमसीले नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहुँच सडक निर्माणको जिम्मा लिएको छ ।

दोस्रो चरणको निर्माणको लागि भने तनहुँ हाइड्रोको चीनको सिनो हाइड्रो कर्पोरेसनले ठेक्का पाएको छ । जसमा आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति  तथा जडान गर्ने छ । जसको लागि संचालनलगायत झन्डै १७ अर्ब रुपैयाँ लाग्ने छ ।

 

प्रकाशित मिति: ११:५९ बजे, आइतबार, फागुन ५, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्