अमेरिकामा अर्को बैंक पनि टाट पल्टियो
जेपी मोर्गनले फर्स्ट रिपब्लिकन बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र साथै ९२ अर्ब अमेरिकी डलरको बचतको टेकओभर गरेको हो।काठमाडौं, वैशाख १८ : अमेरिकामा दुई महिनाबीचमा तेस्रो बैंक टाट पल्टिएको छ। नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्युरेन्स कर्पोरेसनले फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएको जनाएको छ।
कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले सो संकटग्रस्त बैंकलाई स्वामित्व ग्रहण गरेको छ ।
जेपी मोर्गनले फर्स्ट रिपब्लिकन बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र साथै ९२ अर्ब अमेरिकी डलरको बचतको टेकओभर गरेको हो।
मार्च महिनामै बचतकर्ताहरूले सन फ्रान्सिस्कोमा मुख्यालय रहेको बैंकबाट १ खर्ब अमेरिकी डलर निकालेपछि त्यसको शेयर मूल्य ७५ प्रतिशतले घटेको थियो । गत मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएको थियो।
फर्स्ट रिपब्लिकन टाट पल्टिएपछि अमेरिकाको फेरेडल रिजर्भले भने अमेरिकाको बैंकिङ प्रणाली निकै मजबुत र उत्थानशील रहेको पुनः दावी गरेको छ । बचतकर्ताहरुले रकम झिक्न थालेपछि रिजर्भले वित्तीय बजारलाई स्थायित्व दिन आपत्कालीन कदम चालेको छ।