स्थानीयको साझेदारीमा आइएमई समूहको ५१ प्रतिशत लगानीमा मौलाकालीका केबलकार : ढकाल
उनले आगामी ६ महिनाभित्र ६० कोठासहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आउने जनाउँदै केबलकार र होटलमा गरी करिब दुई सयलाई प्रत्यक्ष रोजगारी सिर्जना गरिने बताए।गैंडाकोट, वैशाख १८ : उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले स्थानीयको साझेदारीमा आइएमइ समूहको ५१ प्रतिशत लगानीमा मौलाकालीका केबलकारको सञ्चालनमा आएको बताएका छन्।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केवलकारको आज भएकाे उद्घाटन उद्घाटन कार्यक्रममा उनले यस्ताे बताएका हुन्। केबलकारका अध्यक्षसमेत रहेका ढकालले करिब रु दुई अर्ब लागतमा केबलकार बनेकाे बताए।
यही वैशाख १ गतेबाट केबलकार सञ्चालनमा आइसकेको जनाउँदै उनले केबलकारको अपर स्टेशनमा चार तारे होटल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको बताए। उनले आगामी ६ महिनाभित्र ६० कोठासहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आउने जनाउँदै केबलकार र होटलमा गरी करिब दुई सयलाई प्रत्यक्ष रोजगारी सिर्जना गरिने बताए।
ढकालले नवलपुरमा रहेको ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्पदालाई सबै नेपाली समक्ष पु¥याउन सघाउने गरी केबलकार सञ्चालनमा ल्याएको बताए।
उनले नेपालका सातवटै प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबलकार सञ्चालनका लागि आइएमइ समूहले प्रक्रिया अगाडि बढाइसकेको बताए। 'बुटवलमा केबलकार निर्माण अन्तिम चरणमा छ, हामीले पाथीभरादेखि सुदूरपश्चिमसम्म केबलकार सञ्चालन गर्ने प्रक्रिया अघि बढाएका छौँ', उनले भने, 'पर्यटकीय गतिविधि सञ्चालन गर्दै मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउने हाम्रो योजना हो।'
मन्दिर नजिक रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालीका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण गरिएको छ। केबलकारको एकतर्फी लम्बाइ एक हजार दुई सय मिटर छ। यसका लागि छ वटा टावर निर्माण गरिएको छ। केबलकारमा १४ डब्बा (गोन्डला) रहेका छन्। एउटा डब्बामा एक पटकमा आठ यात्रु अटाउने क्षमता छ। हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्दछ।