सुडानमा युद्धरत पक्ष युद्धविरामका लागि सहमत
राष्ट्रसंघीय निकायहरूले सुडानमा ४ सय २७ जना मारिएका तथा ३ हजार ७ सयभन्दा बढी घाइते भएका जनाएका छन्।खार्तुम, वैशाख १२ : सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ। संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन्।
सोबार मध्यरातदेखि युद्धविराम लागू भएको छ। संघर्षरत दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धता जनाएका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले ४८ घण्टा लामो वार्तापछि सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स आरएसएफबीच सम्झौता भएको बताए।
वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा चार सयभन्दा बढीको मृत्यु भइसकेको छ। जारी युद्धका कारण हजारौं घाइते भएका छन्भने ठूलो सङ्ख्यामा विदेशीहरू पलायन भएका छन्। यसअघिका युद्धविरामका प्रयास असफल भएका थिए।
राष्ट्रसंघीय निकायहरूले ४ सय २७ जना मारिएका तथा ३ हजार ७ सयभन्दा बढी घाइते भएका जनाएका छन्।
आरएसएफले युद्धविरामको उद्देश्य मानवीय सङ्कट उत्पन्न हुन नदिन तथा देशवासीलार्य आवश्यक स्वास्थ्य सेवाका साथै सुरक्षित स्थानसम्मको पहुँच सुनिश्चित गर्न तथा कूटनीतिक नियोगहरूलाई खाली गर्नु भएको बताएको छ। प्रतिद्वन्द्वी समूह एसएएफले पनि आरएसएफले युद्धविराम पालना गरेमा आफूले पनि त्यसलाई मान्ने बताएको छ।