'नेपालको गतिलो आम्दानीको स्रोत नै उर्जा'
काठमाडौं, वैशाख ६ : उर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
उर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा.महतले उर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरेका हुन्।
‘९० को दशकभन्दा अगाडि एक दुई मेगावट विद्युत उत्पादन हुन्थ्यो। जब निजी क्षेत्र विद्युत उत्पादनमा संलग्न भयो, त्यसपछि राष्ट्रिय प्रशारणमा विद्युत थपियो,’ सम्मेलनमा डा.महतले भने, ‘जसले गर्दा माग पूर्ति गर्न ठूलो सहयोग पुग्यो । ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ।’
ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएकाे उनले बताए। उनले निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र हाेइन्, विद्युत निर्यात गर्न सक्ने भएकाे बताए।
अर्थमन्त्री डा.महतले नेपालमा उर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दै लगानीकर्तालाई सहयोग गर्न सरकार तयार भएकाे उल्लेख गरे।
‘लगानीकर्तालाई इन्सेन्टिभ दिन तयार छौं । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले उर्जामा राम्रो भएको छ । नेपालको गतिलो आम्दानीको स्रोत उर्जा नै हो,’ उनले भने।
विद्युतीय खपतमा पनि हामी त्यत्तिकै हुन जरुरी रहेको मन्त्री डा. महतले बताए । घरयासी प्रयोजनलगायत अन्य क्षेत्रबाट विद्युत खपत बढाउन सकिने डा. महतको भनाइ थियो ।