राष्ट्रिय गौरवका आयोजनामा नीतिगत निर्णय गर्न सांसदको माग
राष्ट्रिय सभा बैठकमा पेश गरिएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०६७/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन, २०७९ माथिको छलफलमा सांसदहरूले सरकारसँग यस्तो माग गरेका हुन्।
काठमाडौं, वैशाख ४ : राष्ट्रिय सभाको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूको काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न माग गरेका छन्।
राष्ट्रिय सभा बैठकमा पेश गरिएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०६७/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन, २०७९ माथिको छलफलमा सांसदहरूले सरकारसँग यस्तो माग गरेका हुन्।
राष्ट्रिय सभाका सांसदहरु अनिता देवकोटा, रामचन्द्र राई, सोनाम ग्याल्जेन शर्पालगायतले राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय लिन माग सरकारसँग माग गरेका हुन्। ‘राष्ट्रिय गौरवका आयोजनाहरूलाई छिटो सम्पन्न हुने गरी अघि बढाउन कुनै पनि समस्या नआउने गरी आवश्यक निर्णय लिन सरकारले ढिलाई गरिनु हुँदैन,’ बैठकमा सांसद देवकोटाले भनिन्, ‘राष्ट्रिय गौरवका आयोजनाको कामलाई अघि बढाउन अन्तर मन्त्रालयबीचको समन्वयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’
अर्का सांसद रामचन्द्र राईले काठमाडौँ–तराई द्रुतमार्ग अन्तरगतको खोकना र बुङमतीको जग्गा अधिग्रहणको विवाद अझैसम्म टुंग्याउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गरे। सांसद राईले बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी तय गर्न ढिलाइ नगर्न सरकारसँग माग पनि गरे। सांसद सोनाम ग्याल्जेन शेर्पाले सरकार, संसद् र संसदीय समितिप्रति जवाफदेही नभएको भनाई राखे।
‘समितिहरूले दिएको निर्देशन कार्यान्वयन गर्नभन्दा पनि सरकार र सरकारका मन्त्रीहरू झारो टार्ने खालका काममा मात्रै लाग्ने गरेका छन्,’ शेर्पाको आपत्ति थियो।
यस्तै सांसद शेर्पाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अघि बढाउने विषयमा तत्काल आफ्नो धारणा सार्वजनिक गर्न पनि सरकारको ध्यानाकर्षण गराए। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको दिगोपनाबारे आवश्यक योजना तत्काल सार्वजनिक गर्न सरकारको ध्यान जाओस्,’ उनले भने।

-1784896419.png)









