महासंघ निर्वाचन मतदानको समय दुई घण्टा बढाइयो
बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान कार्यक्रम बिहान १० बजे सुरु भएकाले साँझ ६ बजेसम्म समय बढाइएको निर्वाचन समितिले जनाएको छ।काठमाडौं, चैत २९ : नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी चयनका लागि भइरहेको मतदानको समयअवधि दुई घण्टा थपिएको छ।
बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान कार्यक्रम बिहान १० बजे सुरु भएकाले साँझ ६ बजेसम्म समय बढाइएको निर्वाचन समितिले जनाएको छ।
महासंघ निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र सात प्रदेशबाट सात, उद्योग वाणिज्य संघबाट १८, बस्तुगत संघबाट १४, एसोसिएटबाट १९, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक र संस्थापक सदस्य समूहबाट एकजना कार्यसमिति सदस्य निर्वाचित हुँदै छन्।
महासंघको वरिष्ठ उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, उपाध्यक्ष अन्जन श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघई प्रतिस्पर्धामा छन्। यस्तै, उद्योग वाणिज्य, वस्तुगत र एसोसिएटमा गरी तीन उपाध्यक्षका लागि आठजनाले उमेदवारी दिएका छन्।
सात प्रदेशमध्ये लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सर्वसम्मत निर्वाचित भइसकेका छन्। संस्थापक सदस्य र राष्ट्रिय उद्योग वाणिज्य संघबाट पनि सर्वसम्मत निर्वाचित भएका छन्।
महासंघको उद्योग वाणिज्यतर्फ उपाध्यक्षमा अरुणराज सुमार्गी, दिनेश श्रेष्ठ र सुरकृष्ण वैद्य प्रतिस्पर्धामा छन्। वस्तुगततर्फ मनीषलाल प्रधान, सुकुन्तलाल हिराचन र हेमराज ढकाल उम्मेदवार छन्। एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ र भरतराज आचार्यले उमेदवारी दिएका छन्।
निर्वाचन समितिका अनुसार महासंघमा कूल एक हजार नौ सय ८८ मतदाता छन्। जसमा बस्तुगततर्फ एक सय २३ मतदाता छन्। उद्योग वाणिज्यतर्फ एक सय १७ र एसोसिएटतर्फ एक हजार साथत सय ४८ मतदाता छन्।