ताइवानी राष्ट्रपति न्युयोर्कमा
ताइवानी नेताले सभामुख म्याकार्थीलाई भेटेमा त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी वेइजिङले दिएको छ। सभामुखसँगको भेटवार्ताले गम्भीर टकराव निम्त्याउनसक्ने बेइजिङले बताउँदै आएको छ।न्युयोर्क, चैत १६ : ताइवानका राष्ट्रपति साई इङ वेन ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज न्युयोर्क आइपुगेकी छन्। स्वदेश फर्कनक्रममा उनले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने सम्भावना छ।
ताइवानी नेताले सभामुख म्याकार्थीलाई भेटेमा त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी वेइजिङले दिएको छ। सभामुखसँगको भेटवार्ताले गम्भीर टकराव निम्त्याउनसक्ने बेइजिङले बताउँदै आएको छ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले विदेश भ्राणका क्रममा राष्ट्रपति साई अमेरिकामा ‘ट्रान्जिट’मा बस्नु र उनले सभामुखलाई भेट्नु सामान्य हो भन्दै विगतमा पनि धेरै ताइवानी नेता अमेरिका भएर तेस्रो मुलुक प्रस्थान गरेका बताएका छन्।
राष्ट्रपति साईको विदेश भ्रमाणको सातौँँ अमेरिका ट्रान्जिट हो। सन् १९९४ यता ताइवानका बहालवाला राष्ट्रपतिले २९ पटक अमेरिकालाई ट्रान्जिट पारेर यात्रा गरेकी छन्।
चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ।
राष्ट्रपति साई र सभामुख म्याकार्थीबीचको कुनै पनि बैठक आफूलाई अमान्य हुने उल्लेख गर्दै यदि उनले भेटवार्ता गरेमा त्यसविरुद्ध लड्न दृढ उपाय अवलम्बन गर्ने चेतावनी बुधबार बेइजिङले दिएको थियो।
सभामुख म्याकार्थीले पनि क्यालिफोर्नियामा राष्ट्रपति साईलाई भेट्ने बताउनुभएको छ। गत वर्ष पूर्वसभामुख न्यान्सी पिलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको बेइजिङले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व अभ्यास गरेको थियो।
यसअघि पनि एक जना वरिष्ठ अमेरिकी प्रशासकले राष्ट्रपति साईको भ्रमणलाई बहाना बनाएर रोकटोकको अवाञ्छित क्रियाकलापमा नउत्रन चीनलाई अनुरोध गरेका छन्।
राष्ट्रपति साईको अमेरिका बसाईलाई लिएर बेइजिङलाई आक्रमक नबन्न र जबरजस्ती नगर्न आह्वान गर्दै उनले चीनको चेतावनीबाट अमेरिकी नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट गरेका छन्।