बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै
बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्राथमिक सेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको छ।तनहुँ, चैत १६ : तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपिओ निष्कासन गर्ने भएको छ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्राथमिक सेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको छ।
लिमिटेडको प्रतिशेयर रु एक सय दरका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो। आइपीओ निष्कासनका लागि बुधबार नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माबीच धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
कुल रु. तीन अर्ब ४९ करोड लागत रहेको कम्पनीको चुक्ता पुँजी रु. दुई अर्ब १५ करोड छ। चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् रु. ४ करोड ३० लाख बराबरको साधारण सेयर परियोजना प्रभावित स्थानीयलाई छुट्याइनेछ भने १० प्रतिशत अर्थात रु. २१ करोड ५० लाख बराबरको सेयर सर्वसाधारणलाई छुट्याइनेछ।
परियोजना निर्माण २०७६ साउन ४ मा सुरु भएको थियो। कम्पनीले केबलकार, पाँच तारे होटल, जिप लाइन, बन्जी जम्प, क्यान्टि लिभरसहितको सिसाको पुल, क्विन टावरलगायत पूर्वाधार निर्माण गर्दैछ।
कम्पनीले २०८० वैशाख २५ गते केबलकार सञ्चालनका लागि परीक्षण गर्ने तयारी थालेको छ भने पाँच तारे होटल आगामी मङ्सिरमा सञ्चालन गर्ने कम्पनीको तयारी छ। बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गादेखि बरालथोकसम्म पुग्छ। केवलकार एक किलोमिटर लम्बाइको हुनेछ।