Kathmandu Press

गृहयुद्धमा बेपत्ता भएकाहरुको मृत्यु भइसक्यो : श्रीलङ्काली राष्ट्रपति

कोलम्बो, माघ ७ : श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सन् २००९ मा समाप्त भएको श्रीलङ्काली गृहयुद्धको समयमा बेपत्ता भएका नागरिकको मृत्यु भएको ब....

गृहयुद्धमा बेपत्ता भएकाहरुको मृत्यु भइसक्यो : श्रीलङ्काली राष्ट्रपति

कोलम्बो, माघ ७ : श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सन् २००९ मा समाप्त भएको श्रीलङ्काली गृहयुद्धको समयमा बेपत्ता भएका नागरिकको मृत्यु भएको बताएका छन्।

गृहयुद्धका क्रममा करिब २३ हजार पाँच सय मानिस बेपत्ता भएको अनुमान गरिएको छ। ती सबै मानिसको मृत्यु भइसकेको सरकारले पहिलो पटक औपचारिक रुपमा स्वीकार गरेको हो।

राजधानी कोलम्बोमा संयुक्त राष्ट्रसंघका एकजना प्रतिनिधिसँगको भेटका क्रममा उनले सो जानकारी दिएको समाचारमा जनाएको छ।

Hardik ivf

राष्ट्रपति गोटाबाया राजापाक्षेले श्रीलङ्कामा करिब २७ वर्षसम्म जारी गृहयुद्ध र त्यसको अन्त्यको समयमा ती नागरिक बेपत्ता भएको बताएका हुन्। श्रीलङ्काली गृहयुद्ध अन्त्यका लागि सञ्चालित सैनिक अभियानमा राष्ट्रपति गोटाबाया सक्रिय थिए।

राष्ट्रसङ्घीय प्रतिनिधिको कार्यालयका अनुसार, हराइरहेका भनिएका ती नागरिकलाई मृत्युदर्ता प्रमाणपत्र दिने तयारी गर्न सकिने अनुमान पनि गरिएको छ।

श्रीलङ्काका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगरसँग भएको भेटका अवसरमा राष्ट्रपति राजापाक्षेले सो कुराको जानकारी गराएको श्रीलङ्काका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

विज्ञप्तिका अनुसार राज्यले पहिलो पटक औपचारिक रुपमा ती व्यक्ति मारिएको भनी जानकारी गराएपछि अब उनीहरुलाई मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिने भएको हो।
श्रीलंकामा २७ वर्षसम्म जातीय पृथकतावादीहरु लिबरेसन टाइगर्स अफ तमिल इलमले जातीय र पृथक राज्यका लागि गृहयुद्ध नै चलाएको थियो। त्यो युद्धको अन्त्य सन् २००९ मा भएको थियो।

गृहयुद्धको अन्त्यका नाममा तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेको कार्यकालमा श्रीलङ्काली सेनाको ज्यादतीका कारण सन् २००९ मा उक्त विद्रोही समूहका हजारौँ लडाकू र सर्वसाधारण पनि मारिएको आरोप छ।

तर यहाँको उत्तर र पूर्वी भागमा बसोबास गर्ने सयौँ परिवारले बेपत्ताहरूको अवस्था सार्वजनिक हुनुपर्ने माग गरिरहेका छन्। उनीहरुले वेला वेलामा प्रदर्शन गर्दै आफ्ना परिवारका सदस्यको अवस्था सार्वजनिक गर्न माग गरिरहेका छन्।

सन् २००९ मा गृहयुद्धको अन्त्यको सो समयमा श्रीलङ्काली सेनासँग आत्मसमर्पण गरेका केही व्यक्ति सुरक्षा फौजको नियन्त्रणमा हुनसक्ने आशा गरेको बताएका थिए। तर, यो पछिल्लो भनाईपछि सेनासमक्ष कोही पनि नरहेको भन्ने बुझिएको छ।

श्रीलङ्काको सेनाले विद्रोही तमिल टाइगर्सलाई सन् २००९ को मे महिनामा हराएको थियो। त्यसपछि २७ वर्ष लामो युद्ध समाप्त भएको घोषणा गरिएको थियो।

श्रीलंकाको द्वन्द्वमा भने करिब एक लाख मानिस मारिएको बताइएको छ। बेपत्ता भएका भनिएका ती २३ हजार पाँच सयमा करिब पाँच हजार जना सरकारी सेना पनि परेको बताइन्छ। (एएफपी)

प्रकाशित मिति: १४:४७ बजे, मंगलबार, माघ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्