Kathmandu Press

चैतेदसैंमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो

चैतेदसैंका अवसरमा छिमेकी मुलुक भारतसहित, मुलुकका विभिन्न क्षेत्रबाट पाँच लाख बढी दर्शनार्थी यहाँ आउने समितिले जनाएको छ। मन्दिरमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।
चैतेदसैंमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो

बागलुङ, चैत १५ : प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ। चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदसैंको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो।

नवरात्र सुरु भएदेखि नै यहाँ दर्शनार्थीको चाप बढ्दै गएको थियो। चैतेदसैंको मुख्य दिन आज बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थी पूजाका लागि लाइनमा लागेका कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। चैतेदसैंमा राँगो, बोका र कुखुराको बलि दिने चलन छ।

चैतेदसैंका अवसरमा छिमेकी मुलुक भारतसहित, मुलुकका विभिन्न क्षेत्रबाट पाँच लाख बढी दर्शनार्थी यहाँ आउने समितिले जनाएको छ। मन्दिरमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।

गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको समेत आयोजना गरेको छ। मेलाको मुख्य समारोहलाई आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ। मेला १७ गतेसम्म चल्नेछ। चैतेदसैंका अवसरमा कालिका मन्दिर परिसरमा नेपालकै प्राचीन ‘चैते दशैँ मेला’ लाग्ने गरेको छ। 

पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ। कालिका भगवती मन्दिर विसं १५९१ मा स्थापना गरिएको हो।

प्रकाशित मिति: १३:२८ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्