दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले स्थापना भएको उक्त कार्यालय दुई महिनदेखि प्रमुखविहीन बनेपछि स्थानीयलाई सास्ती भएको छ।
भोजपुर, चैत १५ : भोजपुरको दिङ्लास्थित इलाका प्रशासन कार्यालय प्रमुखविहीन बन्दा सेवा प्रवाहमा समस्या भएको छ।
मुख्यरूपमा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले स्थापना भएको उक्त कार्यालय दुई महिनदेखि प्रमुखविहीन बनेपछि स्थानीयलाई सास्ती भएको छ।
जिल्ला सदरमुकामसम्म आउन धेरै समय लाग्ने भएपछि यस भेगमा स्थानीयले नागरिकता, राहदानीलगायत सेवा यही कार्यालयबाट लिँदै आएका थिए । प्रमुख नहुँदा स्थानीय तीन दिनसम्म लगाएर नागरिकता लिनका लागि सदरमुकाम आउन बाध्य छन्। प्रमुख नहुँदा कर्मचारीले तलबसम्म पाउन सकेका छैनन्।
माघ पहिलो साता शाखा प्रमुख विकेन पौडेल सरुवा भएर गएसँगै कार्यालयको काम ठप्प बनेको हो। सेवा ठप्प भएपछि स्थानीयलाई सास्ती भएको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङका विवेक राईले बताए। नागरिकता लिन सदरमुकाम जाँदा समय र पैसा धेरै खर्च हुने उनको भनाइ छ।
जिल्लाकै दुर्गम क्षेत्रको रूपमा लिइने साल्पासिलिछो गाउँपालिकाका अधिकांश भेगमा सडक पुगेको छैन । इलाका प्रशासनमा प्रमुख नहुँदा दुई महिनादेखि तलबसमेत नपाएको कार्यालयका लेखापाल राजेश दाहालले बताए।
यहाँ आठ जनाको दरबन्दी छ । अहिले चार जनाको भरमा कार्यालय सञ्चालनमा छ। इलाका प्रमुख नहुँदा नागरिकलाई सास्ती भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले बताए। यो समस्याका बारेमा सम्बन्धित निकायसँग पहलकदमी गरिरहेको उनको भनाइ छ।












