Kathmandu Press

‘संकलित गद्यरचना’ : भाषिका चमत्कार र इतिहासको दस्तावेज

चलनचल्तीमा खासै प्रयोगमा नआएका शब्द वा पदावली प्रयोग गरेर पाठकलाई शिक्षित तुल्याउने साहित्यकारका रूपमा पनि उनी चिनिन्छन्। अखबारी लेखनमा पनि सक्रिय पत्रकार अधिकारीको सामर्थ्य पत्रिकाहरूका पाठकले अनुभव गरेकै हुनुपर्छ।
‘संकलित गद्यरचना’ : भाषिका चमत्कार र इतिहासको दस्तावेज

काठमाडौं, चैत ९ : नेपाली साहित्य क्षेत्रमा बेग्लै खालको कवि, कथाकार, उपन्यासकार, निबन्धकार र समीक्षक बन्न सफल अधिकारी भाषामा खँदिलोपन दिन खप्पिस छन्।

चलनचल्तीमा खासै प्रयोगमा नआएका शब्द वा पदावली प्रयोग गरेर पाठकलाई शिक्षित तुल्याउने साहित्यकारका रूपमा पनि उनी चिनिन्छन्। अखबारी लेखनमा पनि सक्रिय पत्रकार अधिकारीको सामर्थ्य पत्रिकाहरूका पाठकले अनुभव गरेकै हुनुपर्छ।

साहित्यबाटै पत्रकारितामा हाम्फाल्नुभएका उहाँको पत्रकार व्यक्तित्वलाई साहित्यकार व्यक्तित्वले ओझेलमा पारेको पनि छैन। समीक्षक अधिकारीको समालोचकीय कलमले धेरै साहित्यकारलाई थला नै पारिदिएको छ। नेपाल सरकारका पूर्वकर्मचारी अधिकारीभित्रको यस्तो प्राज्ञिक व्यक्तित्वले आठ साहित्यिक कृति जन्माइसकेको छ र हरेक कृतिले साहित्यकार, पाठक र समालोचकहरूलाई केही न केही तरङ्ग दिएको छ। 
मान्छेका सुखदुःखलाई विषय बनाइएको ‘रामलालको आकाश’, कथासङ्ग्रह  (आरोहण प्रकाशन, भक्तपुर २०३९), समाजमा चलिरहेको बेथितिलाई प्रहार गर्नाका साथै हिमालपारि, तराईको उब्जनीय फाँट तथा समकालीन मानवीय जीवनका सजीव चित्रणयुक्त १५ कथा समेटिएको ‘प्रतिनायक’, कथासङ्ग्रह ९शिखा बुक्स काठमाडौँ, २०७३०, नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जीवनी समेटिएको ‘एक्लो नायक’ उपन्यास ९अनुष्का प्रकाशन काठमाडौँ, विसं २०७२०  तथा  कवितासङ्ग्रहहरू ‘संसद्मा एक दिन’, वाणी प्रकाशन २०५६, ‘हरि अधिकारीका कविता’, साझा प्रकाशन, २०६३  र ‘गार्मेन्टकी गायत्री’, कवितासङ्ग्रह, फाइन प्रिन्ट काठमाडौँ, २०६६  उनले नेपाली साहित्य जगत् र पाठकलाई दिइएको अन्य कृतिगत उपहार हुन्।

Hardik ivf

विसं २०२४ मा कविताको प्रकाशन गरेर साहित्यको आराधना सुरु गर्नुभएका अधिकारी विसं २०२७ को राष्ट्रिय कविता महोत्सवमा प्रथम (‘पहिले आफूलाई चिन’) पनि भए र पछि केही अन्य पुरस्कार र सम्मान पनि पाए। उनको प्रिय विधा पनि कविता नै हो। तथापि साहित्यिक पत्रकार अधिकारी निबन्धमा पनि बराबर पत्रपत्रिकाहरूमा पोखिइरहन्छन्  र पाठकलाई चमत्कार देखाएरै छाड्छन्। 

पत्रपत्रिकामा प्रकाशन भएका र अप्रकाशित निबन्ध र संस्मरणहरूको सङ्ग्रह ‘साठी वर्षपछि’ ९रत्नपुस्तक भण्डार, २०६९० को स्वाद  पाइसकेका पाठकले अर्को निबन्ध। प्रबन्धसङ्ग्रह  वा पछिल्लो कृति ‘सङ्कलित गद्यरचना’ ९आशुतोष अधिकारी, २०७७० पाउन भने करिब आठ वर्ष नै कुर्नुपर्‍यो। तेइस निबन्ध÷प्रबन्ध समाविष्ट सो कृतिमा पनि पाठकले हरि अधिकारी शैली र स्वाद नै पाउँछन्।  त्यसो त उनका सबै कवितासङ्ग्रहको समग्र रूप, नेपालबाट अमेरिका लगिएका वा पुगेका भुटानी शरणार्थीको स्थिति समेटिएको गैरआख्यान र २६ प्राज्ञिक-साहित्यिक आदि व्यक्तित्वको अन्तर्वार्ता सङ्ग्रह पनि निकट भविष्यमै आउनेछन्।   

‘सङ्कलित गद्यरचना’ मा समाविष्ट उहाँका २३ निबन्ध रचनाहरूलाई लेखकका आफ्नै साहित्यिक-साञ्चारिक जीवनका अनुभूति तथा स्वदेश र विदेशका अनुभव, नेपालका राष्ट्रिय राजनीतिक-साहित्यिक-सांस्कृतिक व्यक्तित्वका जीवनका विविध पाटा, नेपालका केही हिमाल-नदी- प्राकृतिक वैभवसम्पन्नस्थल र आफ्नो जन्मभूमिको चिनारी जस्ता खण्डमा भाग लगाउन सकिन्छ।
 
डिभी परेर भासिएका छोराबुहारी तथा छोराछोरी भेट्न बेलाबखत अमेरिका जाँदाको वर्णन विशेषगरी कोरोनाकालको तीतो अनुभव  ‘असीमित अवसरहरूको देशमा एक जोडी नेपाली’ छ। बरु नेपालले नै विश्वशक्ति अमेरिकाभन्दा बढी सतर्क कदम चालेकामा उहाँ सन्तोष व्यक्त गर्नुहुन्छ। व्यापार प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक हुँदा पोर्चुगलको राजधानी लिस्बनमा आयोजित ‘एक्स्पो लिज्बन-९८’ मा सहभागी हुनुपूर्व आफूलाई रोक्न खोजिएको र पछि सहभागी भइसकेपछि नेपालबाट सलामी खान पाएको रोचक घटना यसमा छ। ‘बस बिसौनीमा पर्खिबस्दा’ मा उहाँले संविधानसभाबाट संविधान प्राप्त हुनुअघिको नेपाल र नेपालीले भोगेको अशान्ति, अन्योल र दरिद्रताको स्थितिको सजीव चित्रण गरेका छन्। 

दसैँको टीका थाप्न गाडी कुरिरहेकाहरूको चिन्तासँगै लेखकले नेपालीले बेहोरिरहेको बिजुली बत्ती-सुलभ नुन-पानी-औषधोपचार-कानुनी शासनको अभाव, भोकमरी, वैदेशिक श्रमिकका परिवारका पीडा, प्रहरीसँगको डर, व्याप्त विभेद, बेथिति र भ्रष्टाचार र विदेशीसँगको राजनीतिक निर्भरतालाई गाँसेर हाम्रो वास्तविक अवस्थालाई केलाइदिएका छन्। 

‘हुवाँ कार्लोसको अभिनन्दन’ मा स्पेनी नरेश हुवाँ कार्लोसको अभिनन्दन गर्दाको समय (नेपाली कांगे्रेसबाट विजयी प्रधानपञ्च हरिबोल भट्टराईको  २०४४-०४५ तिरको कार्यकाल) मा अभिनन्दनपत्रमा नेपालीको प्रजातान्त्रिक व्यवस्थाप्रतिको चाहनाका बुँदा राख्न लाग्दा दरबारदेखि कर्मचारी संयन्त्रबाट अनेक धम्की आए पनि सफल भएर छाडेको सफलताको कथा छ।

‘काठमाडौँ, नेवाः खाजाघर र मेरो राज्य’मा काभ्रेपलाञ्चोक, कुशादेवी बिहाबरका निबन्धकारले उच्च शिक्षा अध्ययनका लागि त्रिचन्द्र क्याम्पस पढ्न असन- इन्द्रचोक नजिक न्ह्योखा टोलमा बस्दा, नोकरी थाल्दा, पत्रकारिता र राजनीतिमा आकर्षित हुँदाका बखतको ‘कोर काठमाडौँ’ सँगको हिमचिम र त्यहाँका वासः पसहरूका समेत वर्णन गरेर पुरानो सभ्यतातिर पाठकलाई लगिदिएका छन्।

‘क्रान्तिकारी किशोरीको सान्निथ्यमा केही क्षण’ निबन्ध भने दाङ, घोराहीमा विसं २०७० मा आयोजित राष्ट्रिय कविता महोत्सवमा भेटिएकी रोल्पाकी एक छापामार युवतीसँग सम्बन्धित भए पनि त्यसमार्फत लेखकले जनयुद्धमा सहिद  भएका बाबु, तिनीहरूलाई छाडेर गएकी आमा, मधेस झरेका दाइकी एक बहिनीको जनयुद्ध सकिएको सात वर्षपछि भएको टिनको छाप्राको बास र त्यस जनक्रान्तिले कहालिलाग्दो भविष्यतिर मात्र डोहोर्‍याएको अभिमत राखेका छन्। 

सङ्कलित कृतिमा निबन्धकारले कारागारमा सड्न लागेका सात सालपूर्वका प्रजातान्त्रिक योद्धा बलबहादुर पाँडे क्षत्रीलाई कारागारमै परेका अर्का क्रान्तिकारी व्यक्तित्व गणेशमान सिंहले एक्लै गरेको सेवासुश्रूषाको अनुपम वर्णन छ। पाँडे जस्ता इतिहासको गर्तमा हराएका योद्धालाई उजागर गरेर लेखकले इतिहासकार र त्यसका विद्यार्थीहरूलाई आँखा पनि खोलिदिनुभएको छ। लक्ष्मीप्रसाद देवकोटाको बनारस प्रवासको  एक कालखण्डको पनि  निबन्धकारले चर्चा गरेका छन्। जसमा  महाकविका कविताका मर्मज्ञ तथा स्वयंसेवी परिचारिका शान्किो दुःखद् अन्त्यलाई कारुणिक ढङ्गबाट वर्णन गरिएको छ जुन कुरा देवकोटासम्बन्धी सामान्य पुस्तकहरूमा पाइँदैन। 

त्यस्तै प्रसिद्ध हास्यव्यङ्ग्यकार भैरव अर्याल, कांग्रेसका नेता बिपी कोइराला, सिंह र सूर्यप्रसाद उपाध्याय, नेकपा ९मसाल०का महामन्त्री मोहनविक्रम सिंह, ‘मधुपर्क’ साहित्यिक पत्रिकाका प्रधानसम्पादक नारायणबहादुर सिंह, लेखकका प्रिय कवि मोहन कोइराला, नृत्याङ्गना तथा नाटक एवं चलचित्र कलाकार सुभद्रा अधिकारीसँग सम्बन्धित ऐतिहासिक पक्षले बेग्लै संसारमा पाठकलाई लैजान्छ।

भारत इन्दौरका कवि तथा शायर  डा राहत इन्दौर र पाकिस्तानी कवि तथा चिन्तक फैज अहमद फैजक चर्चित कविता अहिले पनि सान्दर्भिक रहेको र तिनले सच्चा विद्रोहीहरूलाई उत्साह दिने गरेको  चर्चा पनि गरेर निबन्धकारले देश र संसारकै लागि योगदान दिनेहरूप्रति कृतज्ञता जाहेर गरेका छन्। 

भूगोलविद् वा गम्भीर पर्यटक वा अन्वेषकले झैं कुनै स्थलको मिहीनरूपमा वर्णन गर्न सक्ने अधिकारीको खुबी देखेर पाठक चकित नै हुन्छन्। नेपालका हिमाल र कालीगण्डकीको वर्णन पढ्दा अधिकारी प्रकृतिलाई मानवीकरण गरेर आत्मकथा लेख्न पनि निकै सिपालु भएको ज्ञात हुन्छ। काभ्रेपलाञ्चोकमा जन्मेर काठमाडौँमा युवावस्था बिताउनुभएका लेखक ‘यो पोखरा त्यो पोखरा’ मा पनि निकै जम्नुभएको छ जसमा प्रकृति र त्यसलाई हुर्काउन योगदान दिने धेरै राजनीतिकर्मी, साहित्यकार, पत्रकार आदिको चर्चा राम्रैसँग गरिएको छ। सङ्ग्रहमा रहेका सबै रचना विषयवस्तु र भाषिक चमत्कारका हिसाबले कमजोर छैनन्। 

हाल सत्तरी वर्षका उमेरमा हिँडिरहेका प्रतिबद्ध प्रजातन्त्रवादी, पार्टी सङ्गठन र पदीय जिम्मेवारीरहित  प्रभावशाली कवि, खरो समीक्षक र लालित्यपूर्ण निबन्धकारका छविका अधिकारीको यो ‘सङ्कलित गद्यरचना’ लेखकको भाषिक चमत्कारको उदाहरण दिन सकिने सिर्जनशील साहित्य त हुुँदै हो, इतिहास, कला र संस्कृतिको  दस्तावेज  पनि हो। आजभन्दा करिब पाँच वर्षअघि लेखिएर राजधानीका छापा र विद्युतीय सञ्चारमाध्यममा प्रकाशन भएका यी रचना पाठकलाई अलौकिक सुखानुभूति दिने उद्देश्यले रचिएको भन्ने लेखकको जिकिरसँग सबै पाठकबाट मञ्जुरी दिन नसकिए पनि समयको अभिलेख भएको कुरा भने मान्नैपर्छ। 

कृतिमा वर्णविन्यासका दोष ठाउँ ठाउँमा छन्। एकै शब्दमा पनि कतै कुनै कतै कुनै शब्द (सैलुन र  सेलुन, जमीन र जमिन, कोशागार र कोषागार आदि)  बनेका छन्। कतिपय सन्दर्भ तथा पद-पदावली दोहोरिएका छन्। पहिले प्रकाशन भएर कुनै सङ्ग्रहमा परेको रचना पछिल्ला कृतिमा पनि पार्ने लेखक अधिकारीको बानी यसमा पनि देखिन्छ।

‘साठी वर्षपछि’  कृतिमा छापिएका करिब एक दर्जन रचनालाई कुनै शीर्षक फेरेर र कुनै पुनःलेखन गरेर यसमा पनि पारिएको छ। पहिले पढिसकेका पाठक यसबाट सन्तुष्ट हुँदैनन्। कृतिको नाम भने हरि अधिकारी जस्ता प्रयोगवादी र बेग्लै पहिचान बनाउनुभएका लेखकलाई सुहाएको छैन। ‘सङ्कलित गद्यरचना’ भनिए पनि यसमा लेखकका आख्यान विधाका रचना नपरेकाले कृतिको नाम अर्को राखिनुपर्थ्याे। बाहिरी आवरणले भने कृतिको स्वरूपलाई आकर्षक नै बनाएको छ। (रासस)

प्रकाशित मिति: १४:४३ बजे, बिहीबार, चैत ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्