Kathmandu Press

सहकारीलाई  मर्जरको सुझाव

महानगर क्षेत्रभित्र सञ्चालित सहकारीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा उनले ‘मर्जर’मा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिए।
सहकारीलाई  मर्जरको सुझाव

विराटनगर, चैत २ : विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सहकारीमा देखिएका समस्या समाधानका लागि ‘मर्जर’मा जानुपर्ने बताएका छन्।

महानगर क्षेत्रभित्र सञ्चालित सहकारीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा उनले ‘मर्जर’मा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिए।

'यहाँ सहकारीको उद्देश्य अनुरुप राम्रो गर्ने सहकारी पनि छन्,' उनले भने, 'केही सहकारीका कारण सबै सहकारीको बदनाम भइरहेको छ।' ‘मर्जर’मा गएमा सहकारी बलियो हुने भन्दै नगरप्रमुख कोइरालाले सहकारीको मर्म र भावनाअनुसार सञ्चालन नभएकाले समस्या देखिएको स्पष्ट पारे। 

महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिमा पछिल्लो समय धेरैजसो सहकारीसँग सम्बन्धित उजुरी आउने गरेको जानकारी दिए। 

स्थापना भएको तीन महिनासम्म ऋण प्रवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि सहकारीले त्यसलाई कार्यान्वयन नगरेको उहाँको भनाइ थियो । उपप्रमुख कार्कीले सहकारीको पैसा घरजग्गासहित अन्य क्षेत्रमा लगानी गर्दा समस्या निम्तिएको धारणा राखे।
 
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सहकारी सञ्चालकमा पारदर्शीता र इमान्दारिता जरुरी रहेको औँल्याए। अन्तरक्रियामा सहकारीकर्मी उमेश गुरुङ, मुकुन्द थापा, गोविन्द निरौला, जुनु पोखरेल, हरि भट्टराईलगायतले आगामी आर्थिक वर्षको बजेटमा सहकारीलाई प्राथमिकता राख्न सुझाव दिएको थिए।
 
उनीहरूले सहकारीले रोजगारी सिर्जना र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि राज्यले बेवास्ता गरेको गुनासो राखेका थिए। महानगरले सञ्चालन गर्ने रोजगारमूलक र सीपमूलक तालिम सहकारीमार्फत गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्