Kathmandu Press

अफगानिस्तानको सैन्य सामर्थ्य १ लाख ५० हजार

स्थानीय टिभी च्यानल टोलोन्युजले बुधबार रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खावराज्मीलाई उद्धृत गर्दै जनाएअनुसार देशमा एक लाख ५० हजार जनाको व्यावसायिक एवम् सुदृढ फौज बनाइएको छ। 
अफगानिस्तानको सैन्य सामर्थ्य १ लाख ५० हजार

काबुल, चैत १ : अफगानिस्तानको सेनाको सङ्ख्या एक लाख पचास हजार पुगेको छ। स्थानीय टिभी च्यानल टोलोन्युजले बुधबार रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खावराज्मीलाई उद्धृत गर्दै जनाएअनुसार देशमा एक लाख ५० हजार जनाको व्यावसायिक एवम् सुदृढ फौज बनाइएको छ। 

प्रवक्ता खावराज्मीले एक लाख ५० हजारको सबल फौज राष्ट्रको सुरक्षा सुनिश्चित गर्न तथा सीमा रक्षा गर्न सक्षम रहेको बताएका छन्। विगतको शासनकालका कर्मचारी पनि राष्ट्रिय सेनाको दर्जामा रहेका उनले बताए। प्रवक्ता खावराज्मीका अनुसार अफगानिस्तानको कामचलाउ सरकारले आफ्ना सबै सुरक्षा संयन्त्रहरू आफ्नै स्रोतसाधनले निर्माण गरेको छ।  

सन् २०२१ को अगस्टको अन्त्यमा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फिर्ता भएपछि अमेरिका–समर्थित प्रशासनको पतनसँगै सेना र प्रहरीसहितको पूर्व शासनको  तीन लाख ५० हजार कर्मचारी रहेको सुरक्षा बल छिन्नभिन्न भएको थियो। 

तालिबान सत्तामा आएपछि तुलनात्मक रूपमा हिंसात्मक घटनामा कमी आएको छ। इस्लामिक स्टेट, नेशनल रेसिस्टेन्स फ्रन्ट र पूर्वसरकारसँग सम्बद्ध समूहले काम चलाउ सरकारलाई सुरक्षा चुनौती थपेका छन्। 

तालिबानका अमानवीय गतिविधिका कारण त्यहाँका महिला पीडित भएका छन्। विश्वविद्यालयमा पढ्न जान नपाउने, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय गैरसरकारी सङ्घसंस्थामा काम गर्न उनीहरूमाथि प्रतिबन्ध लगाइएको छ। तालिवानका यस्ता अव्यावहारिक आदेशले अफगान महिलालाई मात्र नभइ अन्तरराष्ट्रिय समुदायलाई पनि चिन्तित तुल्याएको छ। 

प्रकाशित मिति: १५:१८ बजे, बुधबार, चैत १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्