सैनिक कारबाहीमा तीन प्यालेस्टिनी मारिए
नाब्लस नजिकैको उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकमाथि गोली प्रहार गरेपछि भएको प्रतिकारमा ती प्यालेस्टिनी मारिएका इजरायली सेनाले जनाएको छ।
नाब्लस, (प्यालेस्टाइन क्षेत्र), फागुन २८ : आज यहाँ भएको सैनिक कारबाहीमा तीन प्यालेस्टिनी बन्दुकधारी मारिएका छन्।
नाब्लस नजिकैको उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकमाथि गोली प्रहार गरेपछि भएको प्रतिकारमा ती प्यालेस्टिनी मारिएका इजरायली सेनाले जनाएको छ।
‘तीन जना बन्दुकधारीले सैनिक अधिकारीमाथि गोली प्रहार गरेपछि उनीहरूलाई निष्प्रभावी तुल्याउन जवाफी कारबाही गरिएको थियो । त्यसक्रममा तीन जना मारिएका तथा एक जना बन्दुकधारीले आत्मसमर्पण गरेको छ,’ इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
गत वर्षदेखि इजरायल र प्यालेस्टाइनबीच पुनः द्वन्द्व चर्किएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुल दक्षिणपन्थी दलहरूको सहयोगमा गत डिसेम्बरमा सत्ता गठबन्धन गरेपछि वेस्ट बैंकको अवस्था ज्यादै खराब भएको छ।
यो वर्षको प्रारम्भदेखि भड्किएको द्वन्द्वमा परी बालबालिकासहित ८१ जनाको मृत्यु भएको छ।
दुवै पक्षका आधिकारिक स्रोतमा आधारित एएफपीको तथ्याङ्कअनुसार सोही अवधिमा तीन जना बालबालिका र एक प्रहरीसहित १२ जना इजरायली र एक जना युक्रेनी नागरिक मारिएका छन्।












