Kathmandu Press

मध्यभोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने प्राधिकरणको चेतावनी

कुल एक सय दुई मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ। आयोजना सम्पन्न भएर सवस्टेशनका अभावमा बिजुली खेर गएको अवस्थामा निर्माण व्यवसायीबाट असुलउपर गर्ने चेतावनी प्राधिकरणले दिएको हो।
मध्यभोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने प्राधिकरणको चेतावनी

काठमाडाैं, फागुन २५ : नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभइ मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आए मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर गर्ने चेतावनी दिएको छ। 

कुल एक सय दुई मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ। आयोजना सम्पन्न भएर सवस्टेशनका अभावमा बिजुली खेर गएको अवस्थामा निर्माण व्यवसायीबाट असुलउपर गर्ने चेतावनी प्राधिकरणले दिएको हो। 

प्राधिकरणले तामाकोसी–काठमाडौँ २२०र४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारलाई समयसीमा दिएको छ। आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सवस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र  बाह्रबिसेमा २२०र१३२र११ केभी सबस्टेसन निर्माणाधीन छन्। साथै, लप्सीफेदीमा ४००र२२०र१३२र११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सवस्टेसन निर्माण भइरहेको छ।

तामाकोसी तथा सुनकोसी र त्यसका  सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडाँै प्रसारण लाइन र सवस्टेसन निर्माण सुरु गरिएको हो। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजना अन्तर्गत बाह्रबिसे सवस्टेसनको बुधबार अनुगमन भ्रमण गरी महत्वपूर्ण प्रसारण लाइन र सवस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ।

निर्माणमा देखिएको अवरोध हटाउन आफ्नो तर्फबाट पनि सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता जनाउँदै टोलीले नयाँ खिम्ती–बाह्रबिसे, बाह्रबिसे–काठमाडौँ र बाह्रबिसे सबस्टेसनको निर्माण असारभित्र सम्पन्न गर्न निर्देशन दिएको हो। टोलीले प्रसारण लाइन र सवस्टेसन निर्माण जिम्मा पाएका ठेकेदार, आयोजना व्यवस्थापनसँग निर्माणमा हालसम्म भइरहेको प्रगति, सम्पन्न हुने तालिका, बेहोरिरहेको समस्या तथा समाधानका उपायहरुलगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको थियो।

रुख कटान आदेश, जग्गा प्राप्ति, प्रसारण लाइनको मार्गधिकारमा स्थानीय बासिन्दाको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ। बाह्रबिसे सवस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङसी ट्रान्समिसन एण्ड सवस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमको काम सन्तोषजक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो।

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिने छ। मध्यभोटेकोसीको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। 

कार्यकारी निर्देशक घिसिङले असारभित्रमा सवस्टेसनको निर्माण नभएर मध्यभोटेकासीको विद्युत् जोड्न नसकिने अवस्था आएमा त्यसको क्षतिपूर्ति भराइने ठेकेदारलाई चेतावनी दिनुभयो। 

“मध्यभोटेकोसीले सबस्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ, सवस्टेसन निर्माण सम्पन्न भएन भने विद्युत् कसरी प्रवाह गर्ने रु यस्तो महत्वपूर्ण सवस्टेसन निर्माणमा ढिलाइ गर्ने रु”, घिसिङले ठेकेदारलाई निर्देशन दिँदै भन्नुभयो  । 
    
प्राधिकरणले मध्यभोटेसीको विद्युत् प्रवाहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरेको छ। तर, त्यसका लागि पनि बाह्रबिसे सवस्टेसन निर्माण अनिवार्य छ। मध्यभोटेकोसीको विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सवस्टेसनमा जोडिने छ।

कूल २२० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई बाह्रबिसे सवस्टेसनमार्फत १३२ केभीमा झारिने छ। त्यसपछि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाले निर्माण गरेको १३२ केभि प्रसारण लाइनमार्फत लामोसाँघु सवस्टेसनमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ। 

माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाले अहिले बाह्रबिसे बजारबाट बाह्रबिसे सवस्टेसनसम्मको करिब चार किलोमिटर प्रसारण लाइन निर्माण गर्न सर्वेक्षण सम्पन्न गरेको छ। आयोजनाले यो लाइन निर्माण गर्न बढीमा चार महिना लाग्ने बताएको छ। यो लाइन बनेपछि अहिले लामासाँघु सवस्टेसनमा जोडिएको आयोजना बाह्रबिसे सवस्टेसनका जोडिने छ।

कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सवस्टेसन र नयाँ खिम्ती–बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न भएपछि मध्यभोटेकासीको विद्युत् खिम्तीतर्फ प्रवाह गर्न सकिने जानकारी दिए। 

बाह्रबिसे सवस्टेसनमा २२०र१३२ केभी, १६० एमभीए र १३२र११ केभी, पाँच एमभीएका पावर ट्रान्सफर्मर रहने छन्। घिसिङले बाह्रबिसे बजारबाट सवस्टेसनसम्म जाने करिब साढे चार किलोमिटर सडकको मर्मत तत्काल गरी वर्षा सुरु हुनुभन्दा अघिनै  निर्माणस्थलमा उपकरण तथा निर्माण सामग्री ढुवानीको व्यवस्था गर्न निर्देशन दिए।  

प्रसारण लाइन अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्डमा पर्ने ११८ वटा टावरमध्ये ९० वटा टावरको जग हालिएको छ। ७१ वटा टावर  खडा गरिएको छ। १७ दशमलव ५ किलोमिटर तार तानिएको छ।  यो लाइन बनाउन पनि बाह्रबिस सवस्टेसनको ठेकेदारले नै पाएको थियो। तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो। 

प्राधिकरणले चिनियाँ  कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र रु छ करोड १६ लाख ७४ हजार कार्यसम्पादन जमानत जफत गरेको थियो।

यसैगरी, ठेकेदार कम्पनीले अग्रीम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र रू ६ करोड १६ लाख ७४ हजार बैंक जमानत पनि जफत गरिएको थियो। त्यसपछि प्राधिकरणले गरेको नयाँ बोलपत्र गरी ठेकेदार छनोट गरेको थियो। बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने एक सय २२ टावरमध्ये एक सय ११ वटाको जग हालिएको छ भने चार वटा टावरको जग हाल्ने काम जारी रहेको छ। 

एक सय तीन वटा खडा गरिएको छ। स्थानीयको अवरोधका कारण लप्सीफेदीमा चार वटा टावर निर्माण सुरु हुन सकेको छैन। १२.५ किलोमिटर तार तानिएको छ। वन क्षेत्रको जग्गा प्रयोग, रुख कटानी, स्थानीयवासीको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ।

प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्