Kathmandu Press

इन्डोनेसियामा पहिरोमा परी ११ जनाको मृत्यु, दर्जनौं वेपत्ता

राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता अब्दुल मुहारीले रिउ टापुका स्थानीय अधिकारीहरूको पछिल्लो जानकारीअनुसार ११ जनाको शव भेटिएको र अन्य ५० जना हराइरहेको बताए।
इन्डोनेसियामा पहिरोमा परी ११ जनाको मृत्यु, दर्जनौं वेपत्ता

जकार्ता, फागुन २२ : इन्डोनेसियाको सबैभन्दा बाहिरी टापुमा सोमबार परेको मुसलधारे वर्षापछि गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। सो पहिरोमा दर्जनौं बेपत्ता भएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले जनाएको छ।

राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता अब्दुल मुहारीले रिउ टापुका स्थानीय अधिकारीहरूको पछिल्लो जानकारीअनुसार ११ जनाको शव  भेटिएको र अन्य ५० जना हराइरहेको बताए।

उक्त संस्थाले उपलब्ध गराएको तस्वीरमा बोर्नियो र मलेसियाको मुख्य भूमिको बीचमा पर्ने सेरासान टापुको भिरको किनारानजिक रहेका घरहरू पहिरोबाट खसेको माटो र भग्नावशेषले पूर्ण रूपमा पुरिएका छन् ।
 
रिउ टापुको विपद् व्यवस्थापन निकायका प्रवक्ता जुनाइनाहले प्रभावित क्षेत्रमा सञ्चार सञ्जाल काटिएको र पछिल्लो जानकारी प्राप्त गर्न कठिन भएको बताए।  

‘मौसम अप्रत्याशित छ । हावा तीव्र छ र व्यापक बाढी आएको छ,’ उनले भने। उनका अनुसार टाढा टापुसम्म पुग्न पनि उद्धार अधिकारीलाई कठिन भइरहेको छ।

प्रकाशित मिति: २०:३० बजे, सोमबार, फागुन २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्