मेचीनगरमा तीन दिवसीय नाट्य उत्सव सुरु
यही फागुन १६ गतेसम्म सञ्चालन हुने उत्सवमा मेचीनगर नगरपालिकाका–१० माध्यमिकस्तरीय विद्यालयले नाटक मञ्चन गर्नेछन्।
झापा, फागुन १४ : यहाँको परिवर्तन थिएटरमा आज ‘प्रथम मेचीनगरस्तरीय स्कुल नाट्य उत्सव’ सुरु भएको छ। यही फागुन १६ गतेसम्म सञ्चालन हुने उत्सवमा मेचीनगर नगरपालिकाका–१० माध्यमिकस्तरीय विद्यालयले नाटक मञ्चन गर्नेछन्।
विगत १० वर्षदेखि झापामा नाट्य कलाको प्रवर्धन गरिरहेको परिवर्तन थिएटरले विद्यालयमा नाट्य विधालाई व्यावहारिकरुपमा चिनाउन उत्सवको आयोजना गरिएको थिएटरकी अध्यक्ष कविता नेपालले बताए।
हरेक दिन चार नाटक मञ्चन हुने सो उत्सवमा उत्कृष्ट विद्यालयले पुरस्कार पाउनेछन् भने नाटक लेखन, अभिनय र निर्देशनका बारेमा प्रशिक्षणसमेत सञ्चालन हुनेछ। पश्चिम बङ्गालका प्रसिद्ध नाट्यकर्मी विश्वजित रोयले प्रशिक्षण दिने कार्यक्रम तय गरिएको जनाउँदै अध्यक्ष नेपालले उत्सवमा मेचीनगरको परिवर्तन थिएटर र दमकको कदम थिएटरले आफ्नो नाटक प्रस्तुत गर्ने जानकारी दिए।
झापाका मेचीनगर, विर्तामोड र दमकका कलाकर्मीले थिएटर स्थापना गरेको भए पनि मेचीनगर नगरपालिकाबाट नाटक घर निर्माणका लागि पाँच वर्षदेखि आश्वासन मात्र पाइरहेको अध्यक्ष नेपालले गुनासो गरे।
कोभिड–१९ को महामारी फैलिए यता नाट्य क्षेत्रसमेत सङ्कटमा परेको छ। लामो अन्तरालपछि पहिलो पटक विद्यालयस्तरीय नाट्य उत्सव गरिएको उहाँले बताए। 'एउटा नाटक घर बनाउन बजेट दिनुहोस् भनेर विगत पाँच वर्षभित्र दर्जनौँ फाइल पेस गरेर प्रस्ताव लग्यौँ', एक दशकदेखि नाट्य विधामा समर्पित परिवर्तन थिएटरकी अध्यक्ष नेपाल भन्छन्।
नेपालमा रङ्गकर्मी नाटक देखाएर जीवन धान्नसक्ने अवस्थामा नरहेको बताउँदै उनले समाज रुपान्तरण र जनचेतना अभिवृद्धिको सशक्त माध्यमका रुपमा रहेको नाट्य कलाप्रति राज्यका सबै तहले उपेक्षा दर्शाउँदा कलाकार पलायन भइरहेको गुनासो गरे।












