Kathmandu Press

‘रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्छ’

‘रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्छ’

काठमाडौं, फागुन १४ : रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्नेमा जोड दिँदै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोमा थप प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्। देशका पूर्वी र दक्षिणी शहरहरूमा शनिबार दर्जनौँ आक्रमण भएपछि उनले रुसमाथि थप पश्चिमा प्रतिबन्ध आवश्यक भएको बताएका हुन् ।  

शनिबार रुसले २७ वटा हवाई आक्रमण तथा रकेट लन्चरबाट ७५ पटक प्रहार गरेको जनाउँदै युक्रेनी सेनाले पूर्वी डोनेट्स्क प्रान्तमा पाँच जना गैरसैनिक घाइते भएका बताएको छ । सेनाका अनुसार औद्योगिक पूर्वी क्षेत्र र उत्तरपूर्वमा रुसी आक्रमण केन्द्रित थिए ।

देशमा युद्ध चर्किरहेका बेला राष्ट्रपति जेलेन्स्कीले रुस युक्रेनमा हार्नुपर्ने बताउँदै आएका छन् । उनले रुसी सेनालाई परास्त गर्न सकिने उल्लेख गर्दै थप प्रतिबन्धमा जोड दिएका छन् । उनको अनुरोधसँगै संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले मस्कोलाई दण्डित गर्न प्रतिबन्धका नयाँ उपायहरू घोषणा गरेका छन् । 

राष्ट्रपति जेलेन्स्कीले रुसको आणविक निगम रोसाटोम र रूसी आणविक उद्योगविरुद्ध निर्णायक कदम चालिनुपर्ने तथा सैन्य र बैंकिङ दबाब बढाउनुपर्ने बताउँदै आएका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रोसाटोम र रक्षा मन्त्रालयले आवश्यक परेम आणविक हतियार परीक्षण पुनः सुरु गर्न तयार रहेको अभिव्यक्ति दिएपछि उहाँले कठोर प्रतिबन्धको माग गरेका हुन् । 

अमेरिकाले आणविक हतियार विकास गरिरहेको र शीतयुद्धको अन्त्यपछि लागू भएको विश्वव्यापी परीक्षण प्रतिबन्धअन्तर्गत प्रतिबन्धित आणविक परीक्षण गर्ने योजनामा अमेरिका रहेको राष्ट्रपति पुटिनले आरोप लगाएका छन्। ‘यदि अमेरिकाले परीक्षण गर्छ भने, हामी पनि गर्नेछौं,’ उनले भनेका छन्। 

विश्वको आधाभन्दा बढी अर्थतन्त्र प्रतिनिधित्व गर्ने ३० भन्दा बढी देशले रुसमाथि प्रतिबन्ध लगाएका छन् तर रुसी अर्थतन्त्र, व्यापार र कलकारखानामा अपेक्षाकृत ठूलो झट्का लागिसकेको छैन । अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभले पछिल्लो अमेरिकी प्रतिबन्धलाई विवेकहीन भनेका छन्। उनले आफ्नो देश आर्थिक र राजनीतिक दबाबमा बाँच्न अभ्यस्त भएको उल्ल्ेख गर्दै विगतका प्रतिबन्धबाट  विश्व बजारलाई धेरै हदसम्म हानी भएको बताए। 

प्रकाशित मिति: १४:५८ बजे, आइतबार, फागुन १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्