Kathmandu Press

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गर्दै प्योङयाङलाई उत्तेजक कार्य तत्काल बन्द गर्न आह्वान गरेका छन्।
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

सोल, फागुन ८ : उत्तर कोरियाले आज दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएको बताएको छ। 

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको जवाफमा शनिबार प्योङयाङले आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण गरेको ४८ घण्टामा दोस्रो पटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो। 

जापानको रक्षा मन्त्रालयले आज प्रक्षेपण गरिएका दुवै मिसाइल ५० देखि एक सय किलोमिटरको उचाइमा उडेका जनाउँदै आफ्नो विशेष आर्थिक क्षेत्र बाहिर खसेका बताएको छ। जापानका प्रधानमन्त्री फुमियो किसिदाले क्षेप्यास्त्र प्रक्षेपणबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठकका लागि अनुरोध गरेका छन्। 

दक्षिण कोरियाका प्रधानसेनापतिले प्रक्षेपणलाई गम्भीर उत्तेजना भन्दै त्यसको निन्दा गरेका छन्। साथै उनले त्यस्ता गतिविधि तत्काल रोकिनुपर्नेमा जोड दिएका छन्। दक्षिण कोरियाली विदेश मन्त्रालयले प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्ध भएका चार व्यक्ति र पाँच संस्थामाथि प्रतिबन्धको घोषणा गरेको छ। 

सुरक्षा विश्लेषकहरूका अनुसार छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको बताएका छन्। 

महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गर्दै प्योङयाङलाई उत्तेजक कार्य तत्काल बन्द गर्न आह्वान गरेका छन्। उनले कुनै पनि किसिमका उत्तेजक गतिविधि नगर्न उत्तर कोरियालाई आह्वान गर्नुभएको महासचिवका प्रवक्ता स्टेफेन दुजारिकले बताएका छन्। 

प्रकाशित मिति: १३:५६ बजे, सोमबार, फागुन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्