Kathmandu Press

रुसले मानवताविरुद्ध अपराध गरेको अमेरिकाकाे आरोप

रुसले मानवताविरुद्ध अपराध गरेको अमेरिकाकाे आरोप

काठमाडौं, फागुन ७ : संयुक्त राज्य अमेरिकाले रुसमाथि युक्रेनमा मानवता विरुद्धको अपराध गरेको आरोप लगाएको छ ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध अपराध गर्नेलाई दण्ड दिनुपर्नेमा जोड दिइन्। 

उपराष्ट्रपति ह्यारिसले अन्तर्राष्ट्रिय कानुन  कमजोर भएमा अन्य अधिनायकवादी सरकारहरूले फाइदा उठाउने जोखिम बढ्छ भन्दै अन्तर्राष्ट्रिय समुदायले त्यस्ता अपराधविरुद्ध कारबाही हुनुपर्ने आवश्यकता औँल्याएका बताइन्। रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमण आलोचना गर्दै उनले  हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गरिन्।

वाइडेन प्रशासनले गत मार्चमा औपचारिक रूपमा रुसी सेनाले युक्रेनमा युद्ध अपराध गरेको र अपराधीहरूलाई आफ्ना सहयोगीसँग मिलेर कारबाही गर्ने बताएको थियो ।

रुसले युक्रेनमा मानवताविरुद्धको अपराध व्यवस्थित रूपमा गरिरहेका दृष्टान्त प्रस्तुत गर्दै उपराष्ट्रपति ह्यारिसले रुसी अधिकारीहरूले युक्रेनबाट बालबालिकासहित हजारौँ मानिसलाई जबरजस्ती निर्वासित गरेका बताइन्। उनले बालबालिकाहरूलाई निर्ममतापूर्वक परिवारबाट अलग गराइएको उल्लेख गरिन्। 

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, फागुन ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्