शृङ्खलाबद्ध गोलीकाण्डमा मिसिसिपीमा ६ जनाको मृत्यु
घटनामा संलग्न रहेको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिइएको पनि स्थानीय अधिकारीले बताएका छन्।मिसिसिपी, फागुन ६ : मिसिसिपीको टेट काउन्टीमा शुक्रबार भएको शृङ्खलाबद्ध गोलीकाण्डमा कम्तीमा छ जनाको निधन भएको सीएनएनले उल्लेख गरेको छ।
घटनामा संलग्न रहेको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिइएको पनि स्थानीय अधिकारीले बताएका छन्। सो घटना अर्काबुतला समुदायमा भएको थियो। टेट काउन्टी शेरिफ ब्राड लान्सले दिएको जानकारी अनुसार एउटा घटना अर्काबुतला रोडको स्टोर भित्र भएको थियो र सो घटनामा एक व्यक्तिलाई गोली हानिएको थियो।
त्यसैगरी अर्काबुतला बाँध रोडमा रहेको घरभित्रै एक महिलाको पनि हत्या भएको र उनका श्रीमान् पनि घाइते भएको पाइएको छ। अर्काबुतला बाँध रोडमा एक सवारी साधनभित्र संदिग्ध व्यक्ति देकिएपछि टेट काउन्टीका प्रतिनिधिहरूले उनलाई नियन्त्रणमा लिएका छन्।
उनको गिरफ्तारीपछि मारिएका थप अन्य चार व्यक्तिहरू फेला परेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले सो हिंसामा मारिएकाहरूप्रति शोक व्यक्त गरेका छन्। साथै राष्ट्रपति बाइडेनले बन्दुकसम्बन्धी कानूनमा सुधारको आवश्यकता समेत औल्याउनु भएको छ। घटनाबारे अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ।