Kathmandu Press

ब्रोकर व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका

धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको शाखा खोल्ने प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन निर्देशिका जारी गरेको बोर्डले जनाएको छ।
ब्रोकर व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका

काठमाडाैं, फागुन ६ : नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ। धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको शाखा खोल्ने प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन निर्देशिका जारी गरेको बोर्डले जनाएको छ।
     
बिहीबारदेखि कार्यान्वयनमा आएको उक्त निर्देशिकाले ब्रोकर व्यवसायमा हुने वित्तीय जोखिमको न्यूनीकरण गर्ने बोर्डले अपेक्षा गरेको छ। अब ब्रोकर कम्पनीले शाखा विस्तार गर्दा प्रतिशाखा रू एक करोड ५० लाखका दरले चुक्ता पुँजी कायम गर्नुपर्ने छ भने मुख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय खोल्ने स्वीकृती नदिने निर्देशिकामा उल्लेख छ।
     
त्यस्तै, काठमाडौँ उपत्यका बाहिर कम्तीमा तीन शाखा खोलेपछि मात्र उपत्यकामा खोल्न पाइने व्यवस्था गरिएको छ। ब्रोकर कम्पनीले एक पटकमा एउटा मात्र शाखा खोल्नका लागि बोर्डमा निवेदन दिनुपर्नेछ। शाखा कार्यालय खोल्न अनुमति पाएको तीन महिनाभित्र कार्यालय सञ्चालनमा ल्याइसक्नुपर्नेछ।
     
सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाएका ब्रोकर कम्पनीले भने त्यस्तो सजाय पाएको एक वर्षसम्म शाखा बिस्तार गर्न पाउने छैनन। त्यस्तै, शाखा खोल्न स्वीकृति पाए पनि कार्यालय नखोली स्वीकृति रद्द भएमा रद्द भएको मितिले एक वर्षसम्म अर्को शाखा खोल्न नपाउने व्यवस्था गरिएको छ।  
     
धितोपत्रको प्राथमिक बजार देशका सबै जिल्लामा पुगिसकेकाले दोस्रो बजारको पहुँचलाई विस्तार गर्न आवश्यक देखिएकाले उक्त निर्देशिका लागू गरिएको बोर्डले जनाएको छ। हाल धितोपत्र बोर्डबाट ५० कम्पनीले ब्रोकरका रुपमा लाइसेन्स लिएका छन्।

प्रकाशित मिति: १५:३५ बजे, शनिबार, फागुन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्