टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या २२ हजार नाघ्यो, दातृ निकायसँग सहयाेगकाे अपिल
इस्तानबुल, माघ २७ : स्टर्कीको पूर्वी भाग र सिरियामा सोमबार गएको भूकम्पमा परी २२ हजार बढीले ज्यान गुमाएका छन्। शुक्रबारसम्म टर्की र सिरियामा भूकम्पमा परी २२ हजार २ सय ६८ जनाको मृत्यु भएको बताइएको छ।
जसमध्ये टर्कीमा १८ हजार ९ सय ९१ र सिरियामा ३ हजार ३ सय ७७ जनाको मृत्यु भएको छ।
सिरियाको सरकार नियन्त्रित क्षेत्रमा १ हजार ३ सय ४० जना र हताहत भएका छन् भने विद्रोही पकड जमाएको भूभागमा २ हजार ३७ जनाले ज्यान गुमाएका छन्।
टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेका छन् । विश्व बैंकले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
यस्तै, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्की र सिरियाका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलव्ध गराउन आव्हान गरेका छन्। उनले अर्को साता टर्की र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन गर्ने घोषणा पनि गरेका छन्।
यसैगरी बेलायतलगायत देशले टर्की र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवम् परोपकारी संस्थासँग आग्रह गरेका छन्।
अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहायोगको घोषणा गरेको छ । अर्थमन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ।