देशभरका संरक्षित क्षेत्रमा चरा गणना
नवलपुर, पुस २२ : देशका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना सुरू भएको छ। मौसमका कारण दुई ढिला गरि सोमबारदेखि सुरू भएको हो।
....नवलपुर, पुस २२ : देशका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना सुरू भएको छ। मौसमका कारण दुई ढिला गरि सोमबारदेखि सुरू भएको हो।
बर्ड एजुकेसन सोसाइटी, चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रलगायत देशभरका राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना एकसाथ सुरू भएको हो। हरेक वर्ष ४ जनवरीदेखि १९ जनवरीसम्म चरा गणना हुने गर्छ।यस पटक ६५ ठाउँमा गणना हुने जनाइएको छ।
चितवनमा नारायणी नदी किनार र निकुञ्ज तथा राप्ती किनारमा फरक फरक टोलीले जलचरा गणना गर्ने उनले बताए। ‘चितवन राष्ट्रिय निकुञ्जको कुमरोज सामुदायिक वनबाट चरा गणना सुरू गरिएको छ,’ चराविद्समेत रहेका बिडारीले भने, ‘नारायणी नदी र राप्तीको किनारमा चरा गणना गरिँदै छ।’
कुमरोज वनदेखि कसराको पुलसम्म र निकुञ्जभित्रको लामीताल, तमोरताल, बीसहजारीताल, बाटुली पोखरीलगायतका तालहरुमा चरा गणना गरिने जनाइएको छ।
सोसाइटीको पूर्वअध्यक्ष टीका गिरीले यसपटक दिव्यनगर र माडीको रिउखोलामा रहेका जलचराको पनि गणना गरिने जानकारी दिए। गणनामा क्यामेरा, बाइनोकुलर र लिस्कोपको प्रयोग गरिने उनले बताए।
सोमबार भएको गणनामा चखेवा जातको चरा र जलकौवाको सङ्ख्या बढी पाइएको छ। अघिल्लो वर्षको चरण गणनामा चितवन निकुञ्ज र आसपासका क्षेत्रमा १५० प्रजातिका जलचरा भेटिएको थियो।
चितवनमा सोसाइटी, राष्ट्रिय निकुञ्ज तथा चराविद्हरुको टोलीले चरा गणना गरिरहेको छ। चरासँग सम्बन्धित व्यक्तिका साथै संरक्षणकर्मी र गणक गरी २२ जनाको टोली चरा गणनामा सहभागी छन्।