इटालीमा आठ आप्रबासीको शव फेला
रोम, माघ २० : इटालीको तटरक्षकबलले भूमध्यसागरीय क्षेत्रमा आठ आप्रवासीको शव फेला पारेको अधिकारीहरुले शुक्रबार बताएका छन् ।
लाम्पेडुसा टापुका मेयर फिलिप्पो मन्निनोका अनुसार उद्धारकर्मीले बिहीबार राति डुङ्गामा पाँच पुरुष र तीन महिलाको शव फेला पारेका थिए ।
डुङ्गामा रहेका अन्य ४२ जनालाई किनारामा ल्याइएको उनले एएफपीलाई बताए ।
इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले आगामी साता हुने युरोपेली परिषद्को शिखर सम्मेलनअघि डुङ्गाबाट यूरोप पुगेका आप्रवासीको व्यवस्थापनमा युरोपेली सङ्घबाट थप सहयोगको माग गर्ने बताएका छन।
इटालीको भौगोलिक स्थितिले यसलाई उत्तरी अफ्रिकाबाट युरोप जाने र शरण खोज्नेहरूको लागि एक प्रमुख गन्तव्य बनाउँछ, र रोमले लामो समयदेखि आगमनको सङ्ख्यामा भएको वृद्धिबारेमा गुनासो गर्दै आएको छ ।
मन्निनोले आफू छ महिनादेखि मात्र नगरप्रमुख भएको तर आप्रवासीको आगमन निरन्तर भइरहेको र मृत्यु भएकाहरूको शव साप्ताहिक रूपमा टापुमा ल्याइने गरेको बताए ।
'स्थिति वास्तवमै नाटकीय बन्दै गएको छ । युरोप र यहाँका सरकारहरूले केही गर्नुपर्छ । मलाई मृतकको सङ्ख्याको गणनाले स्तब्ध पार्नेगरेको छ,' उनले भने।
गृह मन्त्रालयका अनुसार यो वर्षको सुरुदेखि अहिलेसम्म करिब पाँच हजार आप्रवासी इटाली आइपुगेका छन्, जुन गत वर्षको सोही अवधिमा तीन हजार र सन् २०२१ मा एक हजार भन्दा बढी थियो ।
मेलोनीले शुक्रबार बर्लिन र स्टकहोमको भ्रमण गरेका छन। उनले आप्रवासीहरूको प्रत्यावर्तन र पुनः प्रवेशलाई बढावा दिन ईयू संयन्त्रहरूको लागि शिखर सम्मेलनअघि समर्थन जुटाउने प्रयास गरेका थिए।
उनको नयाँ दक्षिणपन्थी सरकारले आप्रवासीहरूको उद्धार गर्ने परोपकारी जहाजहरूको कार्यलाई सीमित गर्न खोजेको छ, गत हप्ता युरोपेली परिषद्बाट आप्रबासी नीतिले जीवनलाई खतरामा पार्नेछ भनी आलोचना भएको थियो ।