Kathmandu Press

खेलकुदलाई प्राथमिकतामा राख्नुस् : उपराष्ट्रपति पुन

खेलकुदलाई प्राथमिकतामा राख्नुस् : उपराष्ट्रपति पुन

काभ्रेपलाञ्चोक, माघ २० : उपराष्ट्रपति नन्दबहादुर पुनले सबै तहका सरकारलाई खेलकुद क्षेत्र प्राथमिकतामा राख्न सुझाव दिएका छन। उनले जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समितिद्वारा काभ्रेपलाञ्चोकको पनौतीस्थित क्षेत्रीय रङ्गशालामा आयोजित बृहत् खेलकुद महोत्सवको आज उद्घाटन गर्दै उक्त सुझाव दिएका हुन।

'खेलकुद विकासको पहिलो शर्त नै पूर्वाधार विकास हो, पूर्वाधार विकासमा भने राज्यको लगानी अपेक्षित वृद्धि हुन सकेको छैन,' उनले भने, 'त्यसैले सबै तहका सरकारको प्राथमिकतामा खेलकुद क्षेत्र पार्नुहोला ।' उनले विभिन्न क्षेत्रमा महोत्सवअघि निर्माण गरिएका खेलकुद पूर्वाधार अझै अलपत्र रहेको उल्लेख गर्दै खेल पूर्वाधारमा सबै तहका सरकारले लगानी वृद्धि गर्नैपर्ने बताए । 

Hardik ivf

उपराष्ट्रपति पुनले विभिन्न विधाका खेलाडीले पूर्वाधार अभावका कारण कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहिरहेको गुनासो गरे। 'सीमित स्रोत र साधनका बावजुद हाम्रा खेलाडीले देखाएको साहस र राष्ट्रलाई दिलाएको सफलता भने प्रशंसनीय नै रहेको छ,' उनले भने । खेलकुदको विकासका लागि खेलाडीको सुविधा वृद्धि गरिनुपर्ने उनको भनाइ थियो । 

उपराष्ट्रपति पुनले राष्ट्रिय खेलाडीनै रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता कम गर्न तथा खेलाडीको क्षमता अभिवृद्धि गर्न राज्यको तर्फबाट उचित सुविधा र सम्मान गरिनुपर्ने बताए। उनले भने, 'खेलको माध्यमबाट समाजमा शान्ति कायम गर्दै राष्ट्रको प्रगति तथा अन्तर्राष्ट्रिय जगत्सम्म देशको चिनारी उँचो बनाउन खेलकुदको बृहत् विकास हुनैपर्छ, यसप्रति सबै तहका सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।'

उपराष्ट्रपति पुनले विश्वमा भ्रातृत्व, शान्ति, समाज र राष्ट्रको महत्त्वपूर्ण चिनारी तथा पहिचान र समझदारीका लागि खेल महत्त्वपूर्ण माध्यम भएकाले मानवीय मूल्य मान्यता सद्भाव, भाइचारा तथा शारीरिक तथा मानसिकरूपले स्वस्थ नागरिक तयार गर्न खेलकूदको उच्चतम भूमिका रहने बताए। 'स्वस्थ, पहिचान, राष्ट्र, अनुशासन र समृद्धि तथा एकताका लागि खेल भनिएको हो,'  उनले भने। उनले खेलकुदमा सबै उमेर समूहका नागरिकको सहभागिताका लागि उचित अवसर सिर्जना गरिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा सांसद गोकुलप्रसाद बाँस्कोटाले विभिन्न विधाका खेलसँगै सरकारले साहसिक खेल पर्यटनका सम्भावना पहिचान गरी अभिवृद्धि गर्न सक्नुपर्ने बताए। अर्का सांसद सूर्यमान दोङले खेल क्षेत्रले युवा जनशक्ति तयार गर्ने भएकाले खेलकुदलाई प्राथमिकतामा राख्न आग्रह गरे। सो अवसरमा बाग्मती प्रदेशसभा सदस्य तीर्थ लामा, जिसस प्रमुख दीपककुमार गौतम, पनौती नगरप्रमुख रामशरण भण्डारीलगायतले खेल उल्लासमय एवं अनुशासितरूपमा सम्पन्न गर्न शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति: १९:५७ बजे, शुक्रबार, माघ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्