Kathmandu Press

सिरियाकाे अलेपाेमा भवन भत्कँदा सोह्र जनाको मृत्यु

त्यस दुर्घटनामा पाँच जना बालबालिका पनि परेका छन्।
सिरियाकाे अलेपाेमा भवन भत्कँदा सोह्र जनाको मृत्यु

अलेपो, माघ ९ :  सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा त्यसमा रहेका कम्तीमा पनि १६ जनाको ज्यान गएको बताइएको छ।

यहाँको एउटा साततले भवन भत्कँदा ती मानिसको मृत्यु भएको बताइएको हो। त्यस दुर्घटनामा पाँच जना बालबालिका पनि परेका छन्।

प्रहरीका अनुसार उक्त भवनमा सात परिवार बसेका र ती परिवारका गरेर १६ जनाको ज्यान गएको हो।
सो स्थानका स्थानीय बासिन्दाले उक्त भवनमा ३५ जनाको बसोबास रहेको बताएका छन्। भवनका भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ।

प्रहरीले मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताएको छ। यहाँको सरकारी समाचार समिति सानाले सो भवनको भग्नावशेषमा पुरिएको आशङ्कामा उद्धारको काम जारी रहेको जनाएको छ।

एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित भएका सिरियाली नागरिक उक्त भवनमा बस्दै आएका सिरियाली गृह मन्त्रालयका अधिकारीले जनाएका छन्।  

सिरियामा जारी द्वन्द्वमा परी करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ। अधिकांश विस्थापित सिरियाली यस्तै कमजोर प्रकृतिका भवनमा बस्दै आएका छन्।

गएको सेप्टेम्बरमा पनि अलेप्पोनजिकको फर्दवासमा एक यस्तै कमजोर भवन भत्कँदा तीन जना बालबालिकासहित दश जनाको मृत्यु भएको जानकारी गृह मन्त्रालयका अधिकारीले जनाएका थिए। 

प्रकाशित मिति: १२:३४ बजे, सोमबार, माघ ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्