छालाको क्यान्सरबाट पीडित अमेरिकी प्रथम महिला महारोगविरुद्धको राष्ट्रिय अभियानमा
केही समयअघि उनको दाहिने आँखाको माथिल्लो भागमा देखिएको घाउ छालाको क्यान्सर भएको चिकित्सकहरूले पुष्टि गरेका छन्। नियमित परीक्षणका क्रममा उनमा उक्त रोग लागेको पुष्टि भएको हो।
वासिङटन, माघ ४ : अमेरिकी प्रथम महिला जिल बाइडेन छालाको क्यान्सरबाट पीडित भएकी छन्।
केही समयअघि उनको दाहिने आँखाको माथिल्लो भागमा देखिएको घाउ छालाको क्यान्सर भएको चिकित्सकहरूले पुष्टि गरेका छन्। नियमित परीक्षणका क्रममा उनमा उक्त रोग लागेको पुष्टि भएको हो।
प्रथम महिलालाई उपचार गरेमा निको हुने खालको छालाको क्यान्सर भएको हो। परीक्षणका क्रममा चिकित्सकहरूले उनको वायातिरको वक्षस्थलको भाग र वाया आँखाको माथिल्लो भागमा पनि क्यान्सर लागेको पत्ता लगाए। रोग लागेको भाग हटाइएको छ। समयमै उपचार गर्दा निको हुने खालको क्यान्सर लागेकाले आत्तिनुपर्ने अवस्था नभएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
आफूलाई क्यान्सर भएनभएको यकिन गर्न नियमित रूपमा स्वास्थ्य परीक्षण गराउन सर्वसाधारणलाई अभिप्रेरित गर्दै आएकी प्रथम महिलाको यो अभियान नयाँ होइन। न त उनका छोराको सन् २०१५ मा मष्तिष्क क्यान्सर लागेर निधन भएपछि प्रारम्भ भएको हो।
जिल बाइडेनले दशकौं अघिदेखि क्यान्सरविरुद्धको अभियानमा आफूलाई सक्रिय राखेकी छन्। शीर्ष नेताकी पत्नीका रूपमा परिचय सार्वजनिक हुनुअघिदेखि नै यो महारोगविरुद्धको अभियानमा उनी होमिएकी छन्। ‘तपाईलाई क्यान्सर भएको छ’ यो वाक्यांशले आफूलाई सर्वाधिक पीडा दिने उनी बताउँछिन्। यो रोग लागेकाले पनि आफूले जस्तै असिम पीडा महसुस गर्ने उनलाई लाग्छ।
प्रथम महिलाले क्यान्सरविरुद्धको आफ्नो भावी अभियानलाई कहिले र कसरी अघि बढाउँछिन् भन्ने अनुमान अहिले नै गर्नु अपरिपक्व हुनेछ। उनको अवस्था, अनुभवले जनमानसमा क्यान्सरप्रतिको चेतना अभिवृद्धि, अनुसन्धान तथा सर्वसाधारणलाई नियमित स्वास्थ्य परीक्षण अर्थात् क्यान्सर लागेनलागेको सुनिश्चित गर्न अभिप्रेरित गर्नेछ। सार्वजनिक जीवनका व्यक्तिहरूका व्यक्तिगत अनुभूति र भोगाइ चेतना जागृतिका निम्ति अमूल्य हुनेछन्।
प्रथम महिलाकी प्रवक्ता वानेसा वाल्डिभिया व्यक्तिगत रूपमा नै जिल बाइडेन क्यान्सरविरुद्ध लागेको बताउँछिन्। क्यान्सर जोकोहीलाई लाग्नसक्ने उनको बुझाइ छ। क्यान्सरप्रति सचेत रहन र समयमै उपचारका निम्ति अग्रसर हुन उनले सन् १९९३ देखि नै अभियान थालेकी हुन्। त्यसबेला उनका चार जना साथीलाई स्तन क्यान्सर भएको थियो। चार जनामध्ये एक जनाको निधन भएपछि उनी यो महारोगलाई परास्त गर्ने अभियानमा जुटेकी छन्। रोगको रोकथाम र निधानसम्बन्धी एक कार्यक्रमलाई गत वर्ष सम्बोधन गर्दै उनले मृतक आफ्नी मित्र विनीबाट प्रेरणा पाएर आफू अभियानमा लागेको बताएकी थिइन्।
जिल बाइडेनले विगतका घटना र आफ्ना अनुभवबाट प्रेरित बाइडेन ब्रष्ट हेल्थ इनिसिएटिभ्स प्रारम्भ गरिन्। १६ देखि १८ वर्षका युवतीलाई आफ्ना स्तनबारे ध्यान दिन तथा स्तन स्वास्थ्य प्रवर्धन गर्न उनले थाल्नुभएको यो प्रयास अमेरिकामा पहिलो हो।
डेलावरका माध्यमिक विद्यालयहरूमा गएर उनले स्तन स्वास्थ्यबारे प्रवचन तथा प्रदर्शन गर्नुभयो। संयोग पनि अनौठो र दुःखद छ। उनका पिता डोनाल्ड ज्याकोबको सन् १९९९ र आमा बोनी जीनको सन् २००८ मा क्यान्सरबाटै मृत्यु भयो। सन् २०१५ को मे महिनामा राष्ट्रपतिकी दिवङ्गत जेठी श्रीमतीतर्फका छोराको पनि क्यान्सबाटै ज्यान गयो।
बाइडेन त्यसबखल उपराष्ट्रपति थिए। जो बाइडेनकी पहिली पत्नीको पहिले नै निधन भएकाले जिलले नै बाउ बाइडेनलाई हुर्काइबढाइ गरेका थिए। आफ्ना छोराको निधनपछि बाइडेन दम्पती क्यान्सरविरुद्धको अभियानमा होमिएका हुन्।
क्यान्सरविरुद्धको अभियानलाई राष्ट्रिय प्रतिबद्धताका रूपमा अघि बढाउन तत्कालीन राष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति बाइडेनलाई मुख्य जिम्मेवारी सुम्पे। राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले आगामी २५ वर्षमा क्यान्सरबाट हुने मृत्युलाई ५० प्रतिशतमा झार्ने लक्ष्यका साथ काम गरिरहेका छन्।
बाइडेन दम्पतीले क्यान्सरका बिरामी, उपचारपछि बाँचेका पूर्वबिरामी, स्वास्थ्यसेवक, परिचारक, अनुसन्धानकर्ता, चिकित्सक र क्यान्सरविरुद्धको अभियानमा होमिएका सबैलाई एकताबद्ध भएर उक्त लक्ष्य हासिल गर्ने दिशामा सघाउन आह्वान गरेका छन्। ७१ वर्षीया जिलले प्रथम महिलाको पद समाजसेवा र क्यान्सरकै विरुद्ध उपयोग गर्दै आएकी छन्।












