पर्यटकका लागि बौद्धमा सूचना केन्द्र स्थापना
काठमाडौं, पुस १६ : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि काठमाडौंको बौद्धमा पर्यटक प्रहरी सूचना केन्द्र स्थापना गरिएको छ।
पर्यटक प्रहरी कार्य....

काठमाडौं, पुस १६ : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि काठमाडौंको बौद्धमा पर्यटक प्रहरी सूचना केन्द्र स्थापना गरिएको छ।
पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका अनुसार, बौद्ध क्षेत्र विकास समितिको सहयोगमा बौद्ध स्तुपाभित्र पर्यटक सूचना केन्द्र स्थापना गरिएको हो। विदेशी तथा स्वदेशी पर्यटकलाई नेपाल भ्रमण वर्षसम्बन्धी आवश्यक सूचना आदानप्रदान गरिने, विदेशी पर्यटकको उजुरी तथा गुनासो सुन्नका साथै आवश्यक सहयोग गरिने जनाएको छ।
पर्यटक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृतवहादुर बस्नेतका अनुसार पर्यटक प्रहरी बिट भएका सम्पूर्ण क्षेत्रमा सूचना डेस्क राख्ने तयारी गरिएको छ। सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि देशका विभिन्न २७ स्थानमा पर्यटक प्रहरी बिट स्थापना गरेको छ।
सूचनाबिना पदमार्गमा जाने, केही समस्या हुँदा उद्दारमा ढिलाइका कारण पर्यटकको मृत्यु हुने गरेको देखिएपछि पर्यटन विभागको सहयोगमा पर्यटक सूचना व्यवस्थापना प्रणाली जडान गरिएको हो। नेपाल प्रहरीको कम्युटर निर्देशनालयको समन्वयमा पर्यटक प्रहरीको निगरानीमा रहने गरि उपत्यका बाहिरका १६ स्थानमा उक्त प्रणाली जडान गरिएको छ।
२०३५ माघ १२ गतेदेखि सुरू भएको पर्यटक प्रहरी काठमाडौं उपत्यकाको बौद्धसहित १० पर्यटकीय स्थानमा परिचालन गरिएको छ। त्यस्तै उपत्यका बाहिरका १७ स्थानमा पर्यटक प्रहरी बिट स्थापना गरिएको छ।
पदयात्राका लागि लाङटाङ, अन्नपूर्ण, सगरमाथा, मनाङ, मुस्ताङलगायतका क्षेत्रमा जाने पर्यटकको सूचना सजिलै लिन सकिने गरी उक्त प्रणाली जडान गरिएको जनाएको छ। पर्यटकबारे उचित समयमा सही जानकारी लिन सोलुखुम्बुको लुक्ला, धनुषा, वीरगन्ज, सौराहा, स्याफ्रुबेंसी, पोखरा, बिरेठाँटी, धम्पुस, घान्द्रुक, जोमसोम, चामे, घोरेपानी, लुम्बिनी, बेलैया, काँकडभित्ता र चितवनको पटियानीमा प्रहरी बिट स्थापना गरिएको छ।
सूचना व्यवस्थापन प्रणाली जडान भएपछि पदयात्रामा गएका पर्यटकको अवस्था बुझन सजिलो भएको बस्नेतले बताए। ‘विभिन्न जिल्लाको गतिविधि काठमाडौंमै बसेर हेर्न सकिन्छ,’ उनले भने, ‘सञ्चारको अभावका कारण कतिपय पर्यटक तत्काल सम्पर्कमा नआउँदा पनि कुन बाटो भएर पदयात्रामा गएको छ भन्ने अभिलेख पर्यटक प्रहरीसँग हुँदा सहज हुन्छ।’










-1754206481.jpg)
