रुघाखोकीले गाउँनै थलियो, उपचार नपाएर एकको मृत्यु
सिमकोट, पुस १६ : रुघाखोकीले हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँ नै थलिएको छ। रुघाखोकीले एक जनाको मृत्यु भएको छ।
केही दिनदेखि गाउँ....
सिमकोट, पुस १६ : रुघाखोकीले हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँ नै थलिएको छ। रुघाखोकीले एक जनाको मृत्यु भएको छ।
केही दिनदेखि गाउँभरी मौसमी रुघाखोकी फैलिएको छ। रुघाखोकीबाट सोमबार राति रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको स्थानीय पूर्णबहादुर रोकायाले बताए।
उनलाई केही दिनदेखि रुघाखोकी लागेको थियो। निको होला भन्दा भन्दै उनको मृत्यु भएको स्थानीय वासिन्दाले बताए। उनका एक छोरी, दुई छोरा छन्। श्रीमान भने विदेशमा रहेको जनाएको छ।
रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको राया स्वास्थ्य चौकीमा दैनिक १५ देखि २० जना उपचारका लागि आउने गरेको अहेव वीरसिंह रावलले बताए। रावल आफैँ पनि एक हप्तादेखि बिरामी परेका छन्। रुघाखोकीले बिरामी भएर स्वास्थ्य चौकीमा जान नसकेको उनले बताए।
राया स्वास्थ्य चौकीमा उपचारका लागि आएका बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउनेजस्ता समस्या देखिएको उनले बताए।
उनका अनुसार, अहिले राया स्वास्थ्य चौकीमा औषधि पनि सकिन लागेको छ।
हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातै गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा बिरामीको सङ्ख्या बढेको छ। गत मङ्सिर महिनाको अन्तिम साता परेको भारी हिमपातले बिरामीको सङ्ख्या अझ बढ्दै गएको छ।
जिल्ला अस्पातल हुम्लामा पनि बिरामीको चाप बढ्दै गएको छ। रुघाखोकीका बिरामीले अस्पतालका शय्या भरिभराउ हुने गरेको छ। रासस