इराकी प्रदर्शनकारीद्वारा अमेरिकी राजदूतावासमा आक्रमण
काठमाडौं, पुस १६ : इरान निकटका इराकी प्रदर्शनकारीले इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावासमा मङ्गलबार आक्रमण गरेका छन् ।
अमेरिकी स....

काठमाडौं, पुस १६ : इरान निकटका इराकी प्रदर्शनकारीले इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावासमा मङ्गलबार आक्रमण गरेका छन् ।
अमेरिकी सहयोगमा गत हप्ताको अन्तयमा गरिएका आक्रमणमा करिब दुई दर्जन प्रदर्शनकारी (लडाकू) मारिएपछि बग्दादमा इरान निकट एक समूहले गरेको प्रदर्शनका क्रममा इराकी प्रदर्शनकारीले अमेरिकी राजदूतावासको पर्खाल वरपरबाट आक्रमण प्रयास गरेका स्थानीय सञ्चारमाध्यमले देखाएका छन् । केही दिन पहिले हवाई आक्रमणमा इराकी नागरिक मारिएपछि आक्रोशित प्रदर्शनकारीहरूले राजदूतावासको पर्खालमा आगजनी गर्दै राजदूतावास परिसरमा ढुङ्गा मुढासमेत गरेका थिए ।
उनीहरूले अमेरिकाविरोधी नाराहरूसमेत लगाएका बताइएको छ । इराकस्थित अमेरिकी राजदूतावासमा प्रदर्शनकारी पुग्न सकेको धेरै वर्षपछि यो पहिले घटना हो । राजदूतावास उच्च सुरक्षासहितको ‘ग्रिन जोन’ रहेको छ र त्यहाँसम्म पुग्न धेरै सुरक्षा जाँचस्थल पार गरेर जानुपर्ने हुन्छ । प्रदर्शनकारीहरूले हासेद अल–शावीको झण्डा बोकेका देखिएको र उक्त समूह इराकी सशस्त्र समूहको सिया सञ्जाल रहेको र उसले इरानबाट प्रशिक्षण लिएको दावी गरिएको छ ।
अमेरिकी सैनिकको सामुद्रिक सुरक्षा गार्डले सुरूमा केही राउण्ड गोली चलाएपछि अश्रुग्यासको प्रयोग गरेको बताइएको छ । घटनामा २० जना घाइते भएका हासेदले जनाएको छ । यसैबीच केही समय पहिले भ्रष्टाचारविरोधी भनिएको सरकार लक्षित आन्दोलनका कारण राजिनामा दिइसकेका कामचलाउ प्रधानमन्त्री अब्देल मेहदीले राजदूतावासमा पुगेको समूहलाई तत्काल उक्त स्थानबाट बाहिरिन आग्रह गरेका छन् ।
इराकी सरकारले बग्दाद आक्रमणमा २५ प्रदर्शनकारीको अमेरिकी हवाई आक्रमणबाट मृत्यु भएपछि देशभर तीन दिनको शोक घोषणा गरेको थियो । इराकका लागि अमेरिकी राजदूत म्याथु टुलर भने विदाको सन्दर्भमा दुई हप्ताका लागि इराकबाहिर रहेको एक कुटनीतिक स्रोतले एएफपीलाई बताएको छ । तर अन्य कर्मचारी पनि खालि गरिएको छ कि भन्ने प्रश्नमा उक्त स्रोतले जानकारी दिन अस्वीकार गरेको छ । इराकमा अहिले पनि करिब पाँच हजार २०० अमेरिकी सैनिक तैनाद गरिँदै आएको छ ।












