Kathmandu Press

धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा चीनको जोड

इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले धार्मिकस्थल विवादमुक्त हुनुपर्नेमा जोड दिएको हो। 
धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा चीनको जोड

संयुक्त राष्ट्रसंघ, पुस २२ : चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ।

इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले धार्मिकस्थल विवादमुक्त हुनुपर्नेमा जोड दिएको हो। 

संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बिहीबारको बैठकमा पवित्र स्थललाई लिएर इजरायल–प्यालेस्टाइन तनाव बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्ने प्रयासका निम्ति आह्वान गरे। उनले तनाव बढ्न नदिन सम्बन्धित पक्षहरूलाई संयमित हुन आग्रह गरे।

'चीन पवित्रस्थलमा शान्ति कायम होस् भन्ने चाहन्छ र त्यसका लागि आह्वान गर्दछ।  थप तनाव बढ्न नदिन सरोकारवाला पक्षलाई शान्त र संयमित रहन आग्रह गर्दछ,' परिस्थितिलाई बिगार्ने गतिविधि कुनै पक्षबाट हुन नहुनेमा जोड दिँदै राजदूत झाङले भने। चीन अन्तर्राष्ट्रिय विधिको शासन कायम राख्न तथा जेरुसेलममा भएको अन्तर्राष्ट्रिय सहमतिको पालना गर्ने पक्षमा रहेको स्पष्ट गरे।

प्यालेस्टिनी क्षेत्रको जनसाङ्ख्यिक संरचना परिवर्तन गर्ने उद्देश्यले हुने सबै कामप्रति चीनको असहमति रहेको बताउँदै चिनियाँ स्थायी प्रतिनिधिले सन् १९६७ को सहमतिअनुसार पूर्ण सार्वभौम र स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना हुनुपर्ने चीनको अभिमत प्रकट गर्नुभयो।

अन्तर्राष्ट्रिय समुदायले तत्काल दुई राज्य समाधानको आधारमा प्यालेस्टाइन र इजरायलीबीचको शान्ति वार्तालाई यथाशीघ्र पुनः सुरु गर्नुपर्ने बताउँदै उनले प्यालेस्टाइनको शान्तिपूर्ण सहअस्तित्वलाई अस्वीकार गर्न नहुने उल्लेख गरे। उनले त्यसका निम्ति अन्तर्राष्ट्रिय समुदायले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने दोहोर्‍याए। 

प्रकाशित मिति: १२:२५ बजे, शुक्रबार, पुस २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्