कृषियोग्य जमिनको संरक्षण आवश्यक : अध्यक्ष तिमिल्सिना
आज काठमाडाैंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको १५औँ वार्षिक साधारणसभामा उहाँले जग्गाको खण्डीकरण र बस्ती विस्तार रोकिनुपर्ने बताए।
काठमाडाैं, पुस २१ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहले कृषि उत्पादनयोग्य जमिनको संरक्षण गर्न नसकेको बताएका छन्।
आज काठमाडाैंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको १५औँ वार्षिक साधारणसभामा उहाँले जग्गाको खण्डीकरण र बस्ती विस्तार रोकिनुपर्ने बताए।
उनले भने, 'कृषियोग्य जमिन खुम्चिदैछ, जग्गा खण्डीकरण गरी प्लटिङ बढ्दो छ।' उनले कृषियोग्य जमिन अभाव भइरहेको भन्दै सहकारी संस्थाले सामूहिक कृषिखेतीमा जोड दिनुपर्ने बताए। सहकारीमार्फत् प्रत्येक जिल्लामा एउटा सामूहिक कृषिजन्य सामग्री उत्पादन कार्यक्रम सुरु गर्न उनले आग्रह गरे। सामूहिक खेतीमार्फत् कृषि उद्यमशिलता बढाउन सके व्यापार घाटा कम गराउन सकिने उनको भनाइ छ।
नेपालमा मात्रै उत्पादन हुने उपज र वस्तुको पेटेन्ट दर्ता हुनुपर्ने उनले बताए। कृषि उत्पादनलाई निर्यातमुखी बनाउन अर्ग्यानिक उत्पादन, विज्ञ जनशक्तिको सहभागिता र प्रविधिको प्रयोग बढाउनुपर्ने उहाँको भनाइ छ। उहाँले किसानमुखी कानून निर्माण हुनुपर्नेमा जोड दिए।
नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले किसानले मल र बिउ समयमा नपाउने, सिँचाइको अभाव र कृषि प्राविधिक जस्ता समस्या किसानले भोगिरहेको गुनासो गर्नुभयो। उनले कृषि तालिम तथा अनुसन्धान केन्द्रको निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने बताए।











