१६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला फागुनको पहिलो साता

काठमाडौं, पुस २१ : १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटाैं प्राङगारिक कृषि मेला फागुनको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ।
आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाल्गुन २ देखि ६ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो।
मुलुकभरका झण्डै ६ लाख भन्दा बढि लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मुख्य नारा नेपाली वस्तु प्रयोग गरौं, नेपाल भएकोमा गर्व गरौं र मिहनेत, सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको भन्ने रहेको महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले जानकारी दिए।
मेलामा मुलुकका लघु, घरेलु, तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सवै खाले उद्योगको उत्पादनलाई समावेश गरि बिटुबि, बिटुसी जस्ता अन्तक्र्रिया, छलफल हुने उनले बताए। उनले मेला आयोजना गर्न सबै सरोकारवाला निकायसंग समन्वय गरिएको जानकारी दिए।
त्यस्तै मेलामा नेपालका साथै भारत, पाकिस्तान वंगलादेश लगाएत सार्क मुलुक तथा चीनको सहभागीता रहने र दुई सय स्टलको व्यवस्था गरिएको महासंघले जनाएको छ। मेलाको दुई लाख बढीले अवलोकन गर्ने र ७ करोडभन्दा बढी आर्थिक कारोवार हुने अनुमान गरिएको छ।











