Kathmandu Press

भारतमा टुंगियो नोटबन्दीको मुद्दा, नेपाली बैंकमा रहेकाे ५ करोड भारु गयाे खेर

नोटबन्दीबारे भारत सरकारविरूद्ध दायर भएको रिट निवेदनलाई सर्वोच्चले खारेज गरेको छ।
भारतमा टुंगियो नोटबन्दीको मुद्दा, नेपाली बैंकमा रहेकाे ५ करोड भारु गयाे खेर

काठमाडौं, पुस १८ : राजस्व छली र कालोधन नियन्त्रणका लागि भन्दै सन् २०१६ मा भारतमा केन्द्र सरकारले नोटबन्दीको निर्णय गरेको थियो। त्यसबारे विरोध मात्रै नभएर सर्वोच्च अदालतमा रिट पनि परेको थियो।

नोटबन्दीबारे भारत सरकारविरूद्ध दायर भएको रिट निवेदनलाई सर्वोच्चले खारेज गरेको छ। न्यायाधीश एसए नजिरको अध्यक्षतामा रहेको इजलासले रिजर्भ बैंक अफ इन्डिया र केन्द्र सरकारबीचको परामर्शमा भएको नोटबन्दीको निर्णयलाई त्रुटिपूर्ण भन्न नसकिने ठहर गरेको हाे।

तर सोे अदालतले केन्द्र सरकारको निर्णय सही भएको भन्दै आज (सोमबार) फैसला सुनाएपछि भारतमा नोटबन्दीसम्बन्धी मुद्दा टुंगो लागेको छ। तर नेपालको बैंकिङ प्रणालीलाई भने त्यसले असर पारेको छ।

भारतको सर्वोच्च अदालतको फैसला आउँदा नेपालमा नोटका रुपमा रहेका ५ सय र १ हजारका ५ करोड ६ लाख भारतीय रुपैयाँ के हुने भन्ने अनिश्चित बनेको छ। सो फैसलासँगै नेपालमा रहेका भारतीय रुपैयाँ काम नलाग्ने अवस्था बनेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए।

नेपाल राष्ट्र बैंकले नेपालमा रहेका भारतीय नोट साट्न भारतको केन्द्रीय बैंकलाई पटकपटक पत्राचार गरे पनि कुनै पनि सुनुवाइ नगरेको उनको भनाइ छ।

राजस्व छली र कालोधन नियन्त्रणका लागि भन्दै सन् २०१६ मा ५ सय र १ हजार दरका नोटमा भारत सरकारले प्रतिबन्ध लगाएको थियो। 

भारतको सर्वोच्च अदालतले रिटको पक्षमा फैसला सुनाएको भए नेपालका बैंकमा रहेका प्रतिबन्धित नोटले वैधता पाउने सम्भावना थियो। तर अब सो सम्भावना सकिएको राष्ट्र बैंकका ती अधिकारीले बताए।

प्रकाशित मिति: १५:४३ बजे, सोमबार, पुस १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्