पूर्वप्रमुख पादरी बेनेडिक्टको निधनमा अमेरिकी राष्ट्रपतिद्वारा शोक प्रकट
९५ वर्षको उमेरमा शनिबार बिहान भ्याटिकनको मेटर इक्लेसिया मठमा उनको निधन भएको हो ।
वासिङ्टन, पुस १७ : अमेरिकाका राष्ट्रपति जो बाइडेनले संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्टको सोह्रौंको असामयिक निधनप्रति शोक प्रकट गरेका छन्। ९५ वर्षको उमेरमा शनिबार बिहान भ्याटिकनको मेटर इक्लेसिया मठमा उनको निधन भएको हो ।
पूर्वप्रमुख पादरी बेनेडिक्टले इसाई धर्मको पुनर्जागरणका निम्ति गर्नुभएको योगदान र गिर्जाघरप्रतिको उहाँको समर्पणको अमेरिकी राष्ट्रपतिले प्रशंसा गरेका छन्। धर्मपत्नी जिलसहित विश्वभरका इसाई धर्मावलम्बीप्रति अमेरिकी राष्ट्रपतिले शोक व्यक्त गर्दै उनीहरूप्रति समवेदना व्यक्त गरेका छन्। शोक सन्देशमा अमेरिकी राष्ट्रपतिले पादरी बेनेडिक्ट एक निष्ठावान् व्यक्ति रहेकाे भन्दै उनका सिद्धान्तहरूलाई विश्वले सधैँ सम्झने बताएका छन्।
सन् २०१३ मा उनले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा गरेका थिए। ६ सय वर्षपछि पदबाट त्यसरी राजीनामा गर्ने उहाँ पहिलो प्रमुख पादरी थिए। त्यस बेला उनले एक अर्ब २० करोड क्याथोलिकका गिर्जाघर सम्हाल्ने शक्ति आफूमा नरहेको घोषणा गर्दै पदबाट बाहिएका थिए।
जर्मनीका लजालु धर्मशास्त्री बेनेडिक्टले धर्मनिरपेक्ष युरोपमा इसाई धर्मलाई पुनजागृत गर्ने प्रयास गरेका थिए। आगामी बिहीबार पोप फ्रान्सिसको अगुवाइमा सेन्ट पिटर स्क्वायरमा उनको अन्त्येष्टि हुनेछ। सोमबारदेखि उहाँको शव सेन्ट पिटरको बासिलिकामा श्रद्धाञ्जलिका निम्ति राखिने भ्याटिकनले जनाएको छ।
विश्वका विभिन्न देशका नेताहरूले पूर्वपोपको निधनमा गहिरो दुःख व्यक्त गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन्।












