भेडेटारमा दसौं फुड फेस्टिभल सुरु
धरान र धनकुटाको बीचमा पर्ने भेडेटार घुम्न आउने पर्यटकका लागि चाल्र्स प्वाइन्ट भ्युटावर, नमस्ते झरना, नाम्जेको आत्माघर आकर्षणका रुमा रहेका छन्।
धनकुटा, पुस १६ : धनकुटाको भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आज (शनिबार) दसौं फुड फेस्टिभल सुरु भएको छ।
तीन दिनका लागि आयोजना गरिएको फेस्टिभल पुस १८ गतेसम्म चल्नेछ। हरेक अंग्रेजी नयाँ वर्षमा नेपालमा पनि विदेशी पर्यटकलाई लक्षित गरी भेडेटारमा फेस्टिभल आयोजना हुँदै आएको छ।
भेडेटारका पर्यटन व्यवसायीले आफ्नो व्यापार विस्तारको राम्रो मौकाका रुपमा नयाँ वर्षलाई उपयोग गर्ने गरेका छन्। अंग्रेजी नयाँ वर्षमा भेडेडारमा खासगरी भारतीय पर्यटक आउने गर्छन्।
‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्राउने हाम्रो चाहना’ नारासहित होटल एसोसिएसन भेडेटारले महोत्सव आयोजना गरेको हो। महोत्सवमा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम, स्थानीय तथा जातीय खानेकुराका परिकार, भेडेटार हेलिटुर, जिपलाइन तथा पाराग्लाइडिङ समेत मुख्य आकर्षण रहने आयोजकको भनाइ छ। महोत्सवमा कृषि प्रदर्शनीसमेत हुने बताइएको छ।
भेडेटारमा हरेक अंग्रजी नयाँ वर्षमा फेस्टिभलको आयोजना हुँदै आए पनि कोरोना महामारीका कारण केही वर्ष हुन नसके पनि गत वर्षबाट फेरि सुरु भएको हो। होटल एसोसिएसन अफ भेडेटारले भेडेटार र आसपासका पर्यटकीय गन्तव्यको पहिचान गरेको आकर्षक टुर प्याकेजको व्यवस्था गरेको आयोजकको भनाइ छ।
धरान र धनकुटाको बीचमा पर्ने भेडेटार घुम्न आउने पर्यटकका लागि चाल्र्स प्वाइन्ट भ्युटावर, नमस्ते झरना, नाम्जेको आत्माघर आकर्षणका रुमा रहेका छन्।











