प्रदेश नं १ का सांसदले लिए शपथ
प्रदेशसभामा निर्मल लिम्बू, खगेनसिं हाङ्गाम, इन्द्रबहादुर आङ्बो, खिनु लङ्वा लिम्बू र कमलप्रसाद जवेगुले लिम्बू भाषामा तथा सुनिता गच्छदारले थारू भाषामा शपथ लिए।
विराटनगर, पुस ११ : प्रदेश नं १ का प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशसभाका सभाध्यक्ष एवं ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले ९२ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रदेशसभामा निर्मल लिम्बू, खगेनसिं हाङ्गाम, इन्द्रबहादुर आङ्बो, खिनु लङ्वा लिम्बू र कमलप्रसाद जवेगुले लिम्बू भाषामा तथा सुनिता गच्छदारले थारू भाषामा शपथ लिए।
सभाध्यक्ष मण्डलले जनतालाई दिएको वाचा पूरा गर्न ईश्वरका नाममा शपथ लिएका प्रदेशसभा सदस्यहरूले आफ्ना जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे।
शपथ ग्रहणपछिको आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सभाध्यक्ष मण्डलले अहिलेको यो जिम्मेवारीलाई मैले अवसरका रूपमा लिएको बताउँदै सबै सदस्यहरूले भाइचाराको सम्बन्ध बनाएर प्रदेशसभाको काम पूरा गर्नुपर्ने धारणा राखे।
सो अवसरमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल काकीलगायत प्रदेश सरकारका सरकार उच्च ओहदाका प्रहरीप्रमुख, सचिव, कार्यालय प्रमुख, सञ्चारकर्मी एवं समाजसेवीहरुको उपस्थिति रहेको थियो ।












