Kathmandu Press

नेपालमा औद्योगिक वातावरण निर्माणका लागि सरकार संवेदनशील : गृहमन्त्री खाण

आजदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन समारोहमा उनले यस्ता प्रदर्शनीले उद्योगीका समस्या उजागर गर्ने काम गरेको जनाउँदै समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
नेपालमा औद्योगिक वातावरण निर्माणका लागि सरकार संवेदनशील : गृहमन्त्री खाण

बुटवल, पुस ७ : गृहमन्त्री बालकृष्ण खाणले नेपालमा औद्योगिक वातावरण निर्माणका लागि सरकार संवेदनशील बन्ने बताएका छन्।

आजदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन समारोहमा उनले यस्ता प्रदर्शनीले उद्योगीका समस्या उजागर गर्ने काम गरेको जनाउँदै समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

ुबुटवलमा औद्योगिक प्रदर्शनीको लामो सिलसिला छ। यहाँका उद्योग सङ्घ, व्यापार सङ्घ र वाणिज्य सङ्घको प्रयत्नमा स्थायी संरचना बनेको छ, अब यो छिट्टै निर्माण हुनेछ भन्ने विश्वास छु, उनले भने।

उद्योगी व्यवसायीका समस्या समाधान गर्ने सबैको साझा दायित्व भएको बताउँदै उनले नयाँ सरकारको पहिलो प्राथमिकता आर्थिक गतिशीलता हुने र उद्योग व्यवसायको प्रवर्द्धनमा ध्यान केन्द्रित गर्ने बताउनुभयो। उद्योगी व्यवसायीको संवर्द्धन नै सबै दलको साझा दायित्व भएको उनको भनाइ छ।

उद्योगी व्यवसायीले ब्याजदर तिर्न नसक्ने अवस्था सृजना भए त्यसको असर बैंक तथा वित्तीय संस्थामा पर्ने जनाउँदै गृहमन्त्री खाणले ब्याजदर घटाउन आवश्यक रहेको बताए। उनले ब्याजदर घटाउन सरकारले नीतिगत हस्तक्षेप गर्ने बताउनुभयो। साथै उनले संवादको माध्यमबाट समस्या हल गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे। 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवललाई गौरवमय सहरका रूपमा विकास गर्न नगरपालिका लागिपरेको बताउनुभयो। उनले मोतिपुर औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाउन सबै राजनीतिक दल, उद्योगी व्यवसायीको सहकार्य रहेको उल्लेख गर्दै कानूनी अड्चन फुकाउन सरकारको ध्यान जानुपर्ने बताए।

उद्योग परिसङ्घ लुम्बिनीका अध्यक्ष एजाज आलमले अहिले उद्योगहरूको अवस्था दयनीय बन्दै गएको बताउनुभयो। विसं २०४५ देखि हाटबजारबाट उद्योग सङ्घले प्रदर्शनी सुरुआत गरेको जनाउँदै उनले अहिले स्थायी संरचनामा प्रदर्शनी आयोजना हुनु सुखद विषय भएको बताए।

प्रकाशित मिति: १७:२३ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्