प्रतिनिधिसभा सदस्यको शपथ पुस ७ गते, मातृभाषामा शपथ लिनेले अनुवाद बुझाउनुपर्ने
संघीय संसद् सचिवालयले आज (सोमबार) सूचना जारी गरेर ७ गतेका लागि शपथ कार्यक्रम आयोजना गरेको जानकारी दिएको हो।
काठमाडौं, पुस ४ : मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरुको शपथ यही पुस ७ गते हुने भएको छ।
संघीय संसद् सचिवालयले आज (सोमबार) सूचना जारी गरेर ७ गतेका लागि शपथ कार्यक्रम आयोजना गरेको जानकारी दिएको हो।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा हस्ताक्षरित सूचनामा पुस ७ गते दिउँसो १ बजे प्रतिनिधिसभा कक्षमा शपथको कार्यक्रम हुने भए पनि बिहान ११ बजे उपस्थित हुन प्रतिनिधिसभामा निर्वाचित सदस्यहरुलाई जानकारी गराइएको छ।
संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनको सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था गरेको छ। पहिले ज्येष्ठ सदस्यले सपथ लिने र उसैले अन्य सदस्यलाई शपथ खुवाउने गर्छ।
सचिवालयले सूचनामा शपथ ग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं पासपोर्ट साइजको फोटोलगायत कागजपत्र ल्याउन पनि भनेको छ।
मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी अनुवादको प्रतिसहित तीन दिनअगावै संघीय संसद् सचिवालयमा उपलब्ध गराउन पनि सूचनामा भनिएको छ।












