Kathmandu Press

कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार चुनाव हुने

केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा केन्द्रीय पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो।
कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार चुनाव हुने

काठमाडौं, पुस ४ : कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार चुनाव हुने भएको छ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम गठन भएको निर्वाचन समितिले बुधबार बिहान निर्वाचन गर्ने तयारी थालेको हो। आज (सोमबार) बिहान सो समितिको बैठक बसेको थियो।

केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा केन्द्रीय पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो।

निर्वाचन समितिले बुधबार बिहान ८ बजेदेखि  १० बजेसम्म संसदीय दलको निर्वाचन गराउने भएको समितिकी सदस्य पुष्पा भुसालले बताइन्। आजै (सोमबार नै) मतदाता नामावली प्रकाशित गरिने र दाबी–विरोधपछि अन्तिम नामावली प्रकाशित हुने उनले जानकारी दिइन्। उम्मेदवारी दर्ता भने बुधबार बिहानै सुरु हुने जनाइएको छ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते साँझ ५ बजेसम्म समयसीमा तोकेर सरकार गठनको आह्वान गरेकी छन्। संसदीय दलको नेता चयनपछि मात्रै शक्ति बाँडफाँट गर्ने दलहरूबीचको समझदारीका कारण कांग्रेसले सांसदहरूले शपथग्रहण गर्नुअगावै संसदीय दलको चुनाव गर्न लागेको हो।

संसदीय दलको विधानबमोजिम कांग्रेसमा दलको नेताका लागि एकभन्दा बढीले उम्मेदवारी दिए निर्वाचनमा जानुपर्छ। कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले दलको नेतामा चुनाव लड्ने घोषणा गरिसकेका छन्। नेता शेखर कोइरालाको पनि चर्चा चलिरहँदा उनी स्वयंले भने केही बताएका छैनन्।

गत मंसिरमा भएको आम निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ जनाको जित भएको छ। संसदीय दलको नेता चयन गर्ने चुनावमा उनीहरू सबै सहभागी हुन पाउँछन्।

Congress_Samsadiya-dalko-chunab1671441586.jpg

प्रकाशित मिति: १३:१७ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्