अमेरिकी राष्ट्रपतिद्वारा अफ्रिकी राष्ट्रको भ्रमण गर्ने घोषणा

वासिङ्टन, पुस १ : राष्ट्रपति जो बाइडेनले आगामी वर्ष अफ्रिकी राष्ट्रहरूको भ्रमण गर्ने घोषणा गरेका छन्। यहाँ आयोजित अमेरिकी–अफ्रिकी नेताहरूको शिखर सम्मेलनलाई समापन गर्दै उनले उक्त घोषणा गरेका हुन् ।
राष्ट्रपतिले भ्रमणको घोषणा गरेपनि त्यसलाई औपचारिक भ्रमणसूचीमा समावेश गरिएको छैन । विकासको पथमा अग्रसर भइरहेको अफ्रिकी महादेशप्रति आफ्नो ध्यान केन्द्रित रहेको बताउँदै उनले अफ्रिकी राष्ट्रहरूलाई सक्दो सहयोग गर्ने दृढता पनि व्यक्त गरे । दश वर्ष यता अमेरिकी राष्ट्रपतिबाट अफ्रिकाको औपचारिक भ्रमण भएको छैन । आगामी वर्ष राष्ट्रपतिबाट निजी भ्रमण सक्नेछ । उनले सम्मेलनमा सहभागी ४९ देशका सरकार वा राष्ट्रप्रमुखसमक्ष भ्रमण गर्ने प्रतिबद्धता जनाएका हुन्।
अमेरिकाको तुलनामा चीनले अफ्रिकी देशहरूमा अधिक व्यापार गरिरहेको तथा सैन्य उपस्थिति पनि बढाउने प्रयास गरिरहेका बेला अफ्रिकी नेतासँग बाइडेन प्रशासनले शिखर सम्मेलन आयोजना गरेको हो। अफ्रिकी राष्ट्रहरूसँग अमेरिकी सम्बन्ध विस्तार गर्ने उद्देश्यले सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अफ्रिकी नेताहरूको शिखर सम्मेलन आयोजना गरेका थिए । उक्त सम्मेलन सोही उद्देश्य प्राप्तिका निम्ति राष्ट्रपति बाइडेनले यो वर्ष आयोजना गरेका हुन्। विश्वका शक्ति राष्ट्रहरूका लागि अफ्रिकी मुलुकहरू प्राकृतिक स्रोतका साथै संयुक्त राष्ट्रसङ्घमा मत प्राप्त गर्न महत्वपूर्ण मानिन्छन्।
टर्की र चीनका लगानीकर्ताले नाइजरमा लगानी बढाइरहेका बेला अमेरिकाले पनि त्यसो गर्नसक्ने नाइजरका राष्ट्रपति मोहम्मद बजुमले बताएका छन् ।
अमेरिकी राष्ट्रपतिले अफ्रिकी सङ्घलाई विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च ‘जी ट्वेन्टी’को स्थायी सदस्य बनाउन अमेरिकाको समर्थन रहने औपचारिक घोषणा गरेका छन् । साथै उनले अफ्रिका महादेशको खाद्य सुरक्षाका निम्ति दुई अर्ब अमेरिकी डलर खर्च गर्ने योजनाबारे जानकारी पनि दिएका छन्। उनले अफ्रिकी राष्ट्रहरूमा आगामी वर्ष हुने आम निर्वाचनलाई शान्तिपूर्ण एवम् पारदर्शी तुल्याउन १६ करोड ५० लाख डलर सहयोग गर्ने घोषणा पनि गरेका छन् ।












