दाङमा लोप हुने लागेको थारु नाच प्रति बढ्दो आकर्षण
दाङ, पुस १० : दाङको देउखुरी क्षेत्रका थारु समुदायले नाच्ने ‘बर्कानाच’ पछिल्लो समय जिल्लामा निकै प्रचलनमा छ । जिल्लामा हुने मेला महोत्सव हो....
दाङ, पुस १० : दाङको देउखुरी क्षेत्रका थारु समुदायले नाच्ने ‘बर्कानाच’ पछिल्लो समय जिल्लामा निकै प्रचलनमा छ । जिल्लामा हुने मेला महोत्सव होस् वा कुनै पर्व, दिवस वा ठूला नेता, प्रधानमन्त्री, मन्त्रीहरुको स्वागत सत्कारका लागि दाङमा थारु समुुदायमा प्रचलित नाच प्रस्तुत गरिन्छ । त्यसमध्ये ठूलो अर्थको बर्कानाच पनि एक हो ।
थारु संस्कृतिविद् अशोक थारुका अनुसार बर्कानाच महाभारत कथामा आधारित लोककाव्य हो, महाभारतको युद्ध अभिनय हो । थारु समुदायकोे सबैभन्दा ठूलो यस नाचमा महाभारत युद्धको विषय सामूहिक अभिनयसहित नाचेर प्रस्तुत गरिन्छ । लामो समयदेखि हराएको यो नाच दाङका थारु अगुवा चन्द्रप्रकाश चौधरीको सक्रियतामा विसं २०६४/६५ साललेखि फेरि सक्रिय रुपमा प्रस्तुत गर्न थालिएको छ ।
थारु जातिमा बर्कानाच नाचेमा त्यस वर्ष कुनै पनि विपत्ति नआउने विश्वास रहिआएको छ । अहिले हरेकजसो कार्यक्रम, मेला महोत्सव, उत्सव, दिवस, जुलुस आदिमा बर्कानाच देख्न सकिन्छ । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन यही पुस १६ गते दाङको बाह्रकुने दहमा हुँदैछ । उद्घाटनका क्रममा पाहुनालाई स्वागत सत्कारका लागि आयोजकले थारुनाचलाई प्राथमिकतामा राखेको छ । जिल्लामा थारुबाहेक, मगर, यादव, नेवार, क्षेत्री समुदायका विभिन्न प्रकारका लोकनाच पनि प्रचलनमा छन् ।
त्यसमध्ये पनि जिल्लामा सबैभन्दा धेरै प्रस्तुत गरिने र सबैले चासो दिने भनेको थारु जातिका थरीथरिका नाच नै हुन् । थारु जातिकै अर्को नाच लठ्वानाच पनि हो । यो नाच पनि देउखुरी उपत्यकाका थारु समुदायका युवा चाडपर्व, मेला, उत्सवका समयमा पिठ्युँमा मयूरको प्वाँख बाँधेर हातमा एक मिटर जति लौरो लिएर एकार्काको लौरो ठोकाएर मादलको तालमा यो नाच्ने गर्छन् । मगर जातिमा नाचिने सरङ्ङेनाच र थारु जातिको लठ्वानाच बीच धेरै समानता छ । यहाँका संस्कृतविद्ले यस नाचलाई पर्यटक आर्कषण गर्ने लोकनृत्यका रुपमा लिने गर्छन् ।
लोकसंस्कृतविद् डा गोविन्द आचार्य जिल्लाको पर्यटन प्रवद्र्धनमा लठवानाचको भूमिका धेरै रहेको बताउछन्। लठ्वानाचका लागि कुनै चाडपर्व कुर्न नपर्ने, जुनसुकै समयमा पनि नाच्न सकिने र अलि उत्ताउलो खालको भएको हुँदा नाच्ने युवा र हेर्ने दर्शक दुवै आकर्षित हुने गरेको उनको अनुभव छ । दाङ उपत्यकामा थारु जातिको अर्को ‘सख्यापैैयाँ नाच’ पनि हो जसमा दशैँमा थारु युवाको सहभागिता हुन्छ ।
“यसमा मानव सृष्टिको विषयदेखि कृष्णकथा समेत समेटिएको हुन्छ”, उनले भने “थारु युवतीहरु गोपिनी र युवाहरु कृष्णका रुपमा मादल बजाउँदै सहभागी हुन्छन् ।” यो कृष्णाष्टमी र दशैँमा गाउने नाच्ने गरिन्छ । संस्कृतिविद् थारुका अनुसार दाङको थारु जातिको ज्यादै महत्वपूर्ण साङ्गीतिक सामग्री र तिनको लोकजीवन अध्ययन गर्नका लागि यो महत्वपूर्ण छ जुन ग्रामीण पर्यटनका लागि आकर्षण बन्न सक्छ । जिल्लामा व्यावसायिक थारु ग्रामको स्थापना गरी यस्ता नाच देखाउन सके ग्रामीण पर्यटकको चाप बढ्न सक्ने उनको विश्वास छ ।
जिल्लाका सबैजसो धार्मिकस्थलमा लाग्ने मेलामहोत्सवमा थारु जातिका युवा आआफ्नो वेशभूषामा नाचगान गर्ने र पाहुनाको स्वागतमा खटिने गर्छन् । पछिल्लो समय यो क्रम झनै बढेको छ । आफ्नो वेशभूषमा सजिने अनि लोकनाच प्रस्तुत गर्ने क्रम मौलाउँदै जान थालेको छ । यसबाहेक थारु जातिमा सङ्खिया गीत गाउने र माघीमा मघौटा नाच नाच्ने चलन छ । यस्तै जहिलेसुकै नाचिने छोक्रानाच, हातमा रङ्गीबिरङ्गी टालो बाँधेर नाचिने झुम्रानाच, हुदुङ्ग्यानाच, मयूरनाच पनि नाचिन्छ । जनप्रतिनिधि वा स्थानीय सरकार आफैँले चासो नदिए पनि कलासंस्कृतिका अगुवाले आग्रह गरेपछि लोकसंस्कृति जगेर्नाका लागि स्थानीय सरकारले यसमा चासो दिएको स्थानीयको बुझाइ छ ।